नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ।
ललितपुरको भनिमण्डलमा बिहीबार बिहान ८ बजेदेखि दोस्रो दिनको बैठक सुरु हुने एमालेले जनाएको छ।
आजको बैठकमा पनि केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रस्तावमा आफ्ना धारणा र सुझाव राख्ने क्रम जारी रहनेछ।
पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजोको बैठकमा ५० जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका छन्।
आज करिब एकसय जनाले धारणा राख्ने अनुमान गरिएको छ। बैठकमा हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ। तीन मिनेटमा आफ्ना धारणा नटुंग्याए स्वत माइक काटिने प्रवन्ध गरिएको छ।
यही क्रममा सबै केन्द्रीय सदस्यहरुले समय लिने हो बैठक लम्बिने संकेत देखिएको छ। बैठकमा केन्द्रीय सदस्यलाई बोल्नका लागि वर्णानुक्रम अनुसार उल्टोपतिर (‘ज्ञ’ बाट) पालो मिलाइएको छ।
गौतमका अनुसार हिजोको बैठकमा ‘र’ बाट नाम सुरु भएका केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन्।
हिजोको बैठकमा अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्।
बैठकमा केन्द्रीय सदस्यहरुका धारणाा सुनेपछि पदाधिकारीहरुले पनि आफ्ना धारणा राख्ने तालिका छ। अन्त्यमा अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाहरुको एकमुष्ट जवाफ दिने तयारी छ।
Shares

प्रतिक्रिया