अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काललाई ६० दिनसम्मका लागि ग्रिन-कार्ड अर्थात् स्थायी आवासको स्वीकृति रोक्नेसम्बन्धी कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका छन्। तर ट्रम्पले यो अवधि बढ्न सक्ने बताएका छन्।
कोरोना महामारीका कारण आएको आर्थिक मन्दीका कारण अमेरिकी नागरिकले रोजगारीको अवसरबाट वञ्चित हुन नपरोस् भनेर यस्तो निर्णय गरिएको उनको भनाइ छ।
ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको बुधबारको ब्रिफिङ्गको क्रममा अर्थतन्त्र खुलेपछि अमेरिकीहरुलाई रोजगारीमा प्राथमिकता दिनका लागि ग्रिनकार्ड सेवा रोकेको बताए।
आलोचकले भने ट्रम्पले महामारीलाई आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गरेको आरोप लगाएका छन्। उनको यो पछिल्लो कदम आउँदो नोभेम्बरमा हुने राष्ट्रपतिको चुनाव लक्षित रहेको विश्लेषण उनीहरूको छ।
अस्थायी आवास स्वीकृति भने यस अवधिमा राेकिने छैन। विभिन्न देशबाट मानिस कामका लागि अमेरिका जान सक्छन्।
यस्तै अमेरिकी नागरिकका श्रीमान-श्रीमती तथा सन्तान, अमेरिकामा रहेका ग्रिनकार्डका आवेदक, कामका लागि अमेरिका जान चाहने डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीमा पनि यो नियम लागू हुने छैन।
तर ग्रिनकार्ड पाएकाले परिवारका अरु सदस्यलाई अमेरिका छिराउने प्रक्रियामा भने रोक लाग्ने भएको छ।

प्रतिक्रिया