नेपाली सेनाले भारतको सरकारी कम्पनीबाटै औषधि खरिद गर्ने भएको छ।
भारतको औषधि विभाग अन्तरगतको कम्पनी ब्युरो अफ फार्मा पीएसयूएस इन्डिया (बीपीपीआई) बाट औषधि खरिद गर्ने भएको हो।
उक्त कम्पनीबाट २ करोड ४० लाख रुपैयाँ बराबरको औषधि ल्याउने तयारी सेनाले गरेको छ। कम्पनीलाई बुधबार परराष्ट्र मन्त्रालय मार्फत रकम पठाइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।

भारतबाट एक करोड ५० लाख भारुमा ५३ प्रकारका औषधि ल्याउन लागिएको हो। कम्पनीले ती सबै औषधि दिल्लीस्थित नेपाली दूतावासमा उपलब्ध गराउने छ।
अन्य स्वास्थ्य सामग्री चीनबाट ल्याइने भएको छ।
३ सय ४२ टन स्वास्थ्य सामग्री खरिदका लागि चीनको सिनो फार्मा इन्टरनेशनल कर्पोरेसनलाई २ अर्ब २६ करोड ७ लाख ८१ हजार ४७ रुपैयाँ पठाइसकिएको छ।
चीनबाट पहिलो चरणमा पीपीई, मास्क, पीसीआर टेष्टकिटहरु ल्याउन लागिएको हो।
अन्य सामग्री तत्काल आवश्यक नभए स्थलमार्गबाट ल्याउने सेनाको तयारी छ।
औषधि खरिदका लागि सेनाले चैत २५ गते ५ देशमा प्रस्ताव माग गर्दै सामग्री भए नभएको जानकारी लिएको थियो।
भारत, चीन, दक्षिण कोरिया, इजरायल र सिंगापुरसँग प्रस्ताव माग गरिएको थियो।
तर, भारतले तत्काल औषधि उपलब्ध गराउन सक्ने बताएको थियो भने चीनले कोरोना संक्रमणको सामना गर्न आवश्यक पर्ने बिभिन्न स्वास्थ्य सामग्री दिन तयार भएको हो।
सरकार–सरकारबीचको प्रत्यक्ष संलग्नता (जीटूजी) प्रक्रियाबाट सम्झौता गरी स्वास्थ्य सामग्री ल्याउन लागिएको हो।

प्रतिक्रिया