नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक दोस्रो दिन (शुक्रबार) पनि जारी छ।
कमलादीस्थित प्रज्ञा भवनमा बिहीबार सुरु सातौँ पूर्ण बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक तथा संगठनात्मक प्रस्ताव, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका पूरक प्रस्तावमा सहभागीहरूले धारणा राख्ने क्रम जारी छ।
यसका लागि प्रदेशगत रूपमा १० टोली नेता चयन गरिएको छ।
जसअनुसार कोसीका लागि अजम्बर काङमाङ, मधेसका लागि मातृका यादव, बागमतीका लागि सरल सहयात्री, गण्डकीका लागि हरि अधिकारी, लुम्बिनीका लागि सुदर्शन बराल, कर्णालीका लागि महेन्द्र शाही सुदूरपश्चिमका लागि हरि ज्ञवाली `अखण्ड’, उपत्यका विशेष प्रदेशका लागि जगत सिंखडा, सम्पर्क विशेष प्रदेशका लागि यशोदा सुवेदी र प्रवास/आयोगका लागि आरबी खड्का नेता तोकिएका छन्।
सबै टोलीका नेता अध्यक्ष प्रचण्ड पक्षधर हुन्। उनीहरूले आफ्नो टोलीका तर्फबाट धारणा राखेका छन्।बैठकमा सहभागी एक नेताका अनुसार उनीहरूले मंसिरमा महाधिवेशन गरिनुपर्ने, केन्द्र विघटन गरी प्रचण्डको नेतृत्वमा आयोजक समितिमा रूपान्तरण गर्नुपर्ने तथा प्रचण्ड मात्रै होइन, सबै रूपान्तरण हुनुपर्नेमा जोड दिएका छन्।
टोली नेताको धारणा ९५ प्रतिशत प्रचण्डका पक्षमा र बाँकी ५ प्रतिशत मात्र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका पक्षमा आएका छन्।
Shares

प्रतिक्रिया