राजनीति


जलेको घरअगाडि प्रकाशशरणसँग ‘तत्कालै’ : जिद्दी ओलीलाई यथेष्ट दबाब दिन नसक्नु गल्ती भो (भिडिओ)

‘देउवालाई हटाउनुपर्छ भन्नेहरू संस्कारहीन हुन्, दोष त गगनको पनि छ’


अनिल यादव
असोज ७ , काठमाडौँ

दुई दिनको जेनजी आन्दोलनले नेपालको राजनीति र सरकारमै उथलपुथल ल्याएपछि यतिखेर सबै राजनीतिक दलमा नेतृत्व परिवर्तनको बहस चुलिएको छ। प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अस्पतालमा रहेका बेला नेपाली कांग्रेसभित्र पनि नेतृत्व परिवर्तनको माग उठेको छ। तर, नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले यसलाई हतारको संज्ञा दिएका छन्। 

हालै काठमाडौँमा महामन्त्री गगनकुमार थापा र डा. शेखर कोइराला समूहका महाधिवेशन प्रतिनिधिहरूले तीन महिनाभित्र विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान सुरु गरेका छन्। तर, महतले भने देउवाको स्वास्थ्यलाभपछि मात्रै पार्टीभित्र विस्तृत समीक्षा गर्नुपर्ने बताए।

‘यो आन्दोलनको पृष्ठभूमि धेरै अघिदेखि बन्दै आएको थियो, जहाँ नवयुवाहरूमा देखिएको छटपटी र विकसित देशहरूसँग तुलना गर्दा नेपाल पछि परेको महसुस मुख्य कारण थियो,’ नेपालखबर ‘तत्कालै’सँग कुराकानी गर्दै उनले भने, ‘सामाजिक सञ्जालले गर्दा तत्कालै स्मार्टफोनमा संसार देखिन्छ। विकसित देशहरूमा जस्तो किन नेपाल नभएको भन्ने युवाहरूको मनमा थियो। यो आन्दोलन हुनुमा सबै राजनीतिक दल, सत्तामा रहेका र नहरेका, सबैको कमीकमजोरी छ। तर, सुशासन र भ्रष्टाचार नियन्त्रणको मुद्दा लिएर शान्तिपूर्ण रूपमा सुरु भएको यो आन्दोलन पछि हाइज्याक भयो। अराजक तत्वहरूले धमिलो पानीमा माछा मार्ने काम गरेका छन्। पक्कै यसको छानबिन होला।’

महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासहित कांग्रेसका नेताहरूले पार्टी नेतृत्व परिवर्तन गर्नुपर्ने कुरा उठाइरहँदा महतले भने यो त्यसका लागि उचित समय नभएको बताए। 

‘भदौ २३ गते जुन घटना घट्यो, जसरी धेरै नवयुवाहरू हताहत भए, त्यो आफैँमा रहस्यमय छ,’ उनले भने, ‘कसले किन गोली हान्यो, कांग्रेसका गृहमन्त्री थिए, उनलाई पनि थाहा थिएन। त्यसैले यो घटनाबाट सिर्जित विस्फोटक स्थितिमा सबै खालका प्रवृत्तिहरू प्रवेश गरेको देखिन्छ।’

महतले देउवा घाइते अवस्थामा रहेकाले तत्कालै नेतृत्व परिवर्तनको बहस गर्नु संस्कारहीन भएको तर्क गरे। 

‘कमसेकम उपचारबाट फर्किन त पर्‍यो,’ उनले भने, ‘हाम्रो संयन्त्र छ, मिटिङ त बस्नु पर्‍यो। उहाँ (देउवा) ठीक भएर आएपछि केन्द्रीय समिति बैठक बसेर समग्र परिस्थितिको मूल्यांकन गर्ने र त्यसपछि मात्रै पार्टीले अगाडि बढ्ने बाटो तय गर्ने हो नि।’

देउवाको नेतृत्वमा विगतमा भएका योगदानलाई पनि स्मरण गराउँदै महतले भने, ‘उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा ठूलो योगदान गर्नुभएको छ। अहिले नेतृत्व परिवर्तनको कुरा उठाउनु भनेको अप्ठ्यारो अवस्थामा प्रश्न गर्नेु प्रवृत्ति हो। यो बेठिक हो, जुन बेला सहज हुन्छ, त्यो बेला प्रश्न गर्नुपर्छ।’

अहिलेको जनताको असन्तुष्टि र कमीकमजोरीमा सबैको सामूहिक जिम्मेवारी रहेको महतको भनाइ छ। 

‘हामी सबैले समीक्षा गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘समीक्षा गरेर हामीले कसरी आफूलाई चाहिँ समयसँगै सान्दर्भिक बनाएर लाने, त्यो चुनौती हामी सबैको अगाडि छ। कुनै एक व्यक्तिलाई मात्र दोष दिएर पन्छिन मिल्दैन। पार्टी सभापतिलाई मात्रै दोष दिएर पन्छिन सकिँदैन, हामी सबैले त्यसको जिम्मेवारी लिनुपर्छ।’

महामन्त्रीद्वय पनि सरकारमा र पार्टीको निर्णय प्रक्रियामा संलग्न भएको हुँदा यसको जिम्मेवारी उनीहरूले पनि लिनुपर्ने महतको मत छ। 

‘महामन्त्री, उपसभापतिसहित सरकार चलाउन र सरकारमा बसेका सबै दोषी हुनुहुन्छ,’ उनले भने। 

पूर्वअर्थमन्त्रीसमेत रहेका महतले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘जिद्दी प्रवृत्ति’ को पनि आलोचना गरे। उनले कांग्रेसले सरकारमा रहँदा ओलीको जिद्दीपनका कारण धेरै कुरामा अपेक्षित दबाब दिन नसकेको बताए। 

‘कमीकमजोरी के भएको छ भने हामीले यथेष्ट दबाब दिन सकेनौँ। ओलीजीको एउटा जिद्दी प्रवृत्ति र सोच शैली थियोे, मैले जे सोच्छु त्यो नै ठीक हो भन्ने उहाँलाई लाग्ने, त्यसमा यथेष्ट दबाब हाम्रो नेतृत्वले दिन सकेन। यसमा कमीकमजोरी भएको छ,’ उनले भने।

जेनजी प्रदर्शनको दोस्रो दिन देउवा निवासबाट ठूलो संख्यामा पैसा भेटिएको भन्ने विषयमा समेत हामीले महतलाई जिज्ञासा राख्यौँ। जवाफमा उनले त्यो झुटो भएको दाबी गरे।

‘सामाजिक सञ्जालमा कताकताबाट  के–के जोडेर अनेकौँ देखाउन सकिन्छ, त्यो त्यस्तै फेक हो भन्ने कुरा पार्टी सभापतिको सचिवालयले भनिसकेको छ,’ उनले भने, ‘बाँकी उहाँ ठीक भएर आएपछि बैठकमा कुरा उठ्यो भने उहाँले थप स्पष्ट पार्नुहोला।’

महतले बाँकी के–के भने, हेर्नुहोस्, उनीसँग उनको जलेको घरमै गएर गरिएको कुराकानी नेपालखबर ‘तत्कालै’ :

फोटो/भिडिओ : सरोज नेपाल 

असोज ७, २०८२ मंगलबार २२:१०

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad