राजनीति


रवीन्द्र मिश्रको प्रश्न: जलेका नोटका डंगुर ‘ब्यानर हेडलाइन’ हो कि होइन?

रवीन्द्र मिश्रको प्रश्न: जलेका नोटका डंगुर ‘ब्यानर हेडलाइन’ हो कि होइन?

फाइल तस्बिर : रवीन्द्र मिश्र


नेपालखबर
असोज ६, २०८२ सोमबार ९:६, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले जेन-जी आन्दोलनका क्रममा नेताहरूका घरमा नोट जलेका विषयमा प्रमुख सञ्चारमाध्यमले प्राथमिकताका साथ समाचार नदिएको भन्दै असन्तुष्टि जनाएका छन्। 

पूर्वपत्रकारसमेत रहेका मिश्रले नेताका घरमा नोटका खात जलेका भिडिओ हेर्न युट्युबरहरूमा भर पर्नुपरेको टिप्पणी गरेका छन्। 

‘जुन दिन नेताको घरमा कोठाभरिभरि नोटका खात जलेको भनिएको भिडिओ सार्वजनिक भयो, प्रमुख मिडियाले त्यसको समाचार सम्प्रेषण गर्नुपर्थ्यो कि पर्थेन? त्यसको 'फलोअप' गर्नु पर्थ्यो कि पर्थेन? जुन मिडियाले गरे, ती स्तुत्य छन्। आम सर्वसाधारण मूलत: युट्युबरहरूमा भर पर्नुपर्‍यो’, मिश्रले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘ती जलेका नोटका डङ्गुरहरू पत्रकारिताको दृष्टिकोणबाट 'ब्यानर हेडलाइन'को सामग्री हो कि होइन? कतिवटा प्रमुख अनलाइन, नअनलाइन मिडियाले त्यसलाई महत्त्वका साथ छापे, कसैले याद गरेको छ?’

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा आगजनी हुँदा ठूलो मात्रामा भण्डारण गरेर राखिएको रकम जलेको भन्दै भिडिओ सार्वजनिक भएका थिए। तर देउवाको सचिवालयले निवासमा जलेको नोट भेटिएको भन्ने कुरा झुटो भएको दाबी गरेको छ। 

त्यसो त यस विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको छ। घटना भएको १३ दिनपछि आइतबार (असोज ५ गते) विभागको टोलीले देउवा र खड्काको घरमा पुगेर जलेका नोटका केही टुक्रा र खरानी संकलन गर्दै अनुसन्धान अघि बढाएको हो। 

यस्तो छ, रवीन्द्र मिश्रले लेखेको पूरा स्टाटस:

आज बिहानै मनमा मिडियाबारे आएका कुरा:

१- जुन दिन नेताको घरमा कोठाभरिभरि नोटका खात जलेको भनिएको भिडिओ सार्वजनिक भयो, प्रमुख मिडियाले त्यसको समाचार सम्प्रेषण गर्नुपर्थ्यो कि पर्थेन? त्यसको 'फलोअप' गर्नुपर्थ्यो कि पर्थेन? जुन मिडियाले गरे, ती स्तुत्य छन्। आम सर्वसाधारण मूलत: युट्युबरहरूमा भर पर्नुपर्‍यो। 

२- ती जलेका नोटका डङ्गुरहरू पत्रकारिताको दृष्टिकोणबाट 'ब्यानर हेडलाइन'को सामग्री हो कि होइन? कतिवटा प्रमुख अनलाइन, नअनलाइन मिडियाले त्यसलाई महत्त्वका साथ छापे, कसैले याद गरेको छ?

३- एक-दुईजनाले प्रमाणबिना भनेको भरमा 'राजाले गैँडा बेचेर खाए' भन्ने मिडियाहरू स्पष्टै रूपमा देखिएको त्यति ठूलो समाचारबारे किन मौन बसे होलान्?

४- मेरो निष्कर्ष: गत २० वर्षमा यो देश राज्य र समाजलाई जेजति क्षति पुगेको भए पनि उनीहरूलाई 'महान् गणतन्त्र' जोगाउनु छ। त्यत्ति हो। देश बरु पतन भए होस्, गणतन्त्रचाहिँ चाहियो।

गणतन्त्र जोगाउन खोज्दा देश बर्बाद भएर लोकतन्त्र/प्रजातन्त्र समेत जाने स्थिति नआओस्- त्यतिचाहिँ ख्याल गरिदिनुहोला। त्यो बेलामा पनि मलाई नै गाली गरेर नबसिदिनुहोला। तपाईँहरू सबैको जय होस्- नेपालको जय होस्। धन्यवाद!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad