राजनीति


सचिवालयले भन्यो– डाँका शैलीमा देउवामाथि आक्रमण भयो, पैसाको सुरुङ भेटिएको दुष्प्रचार गरियो

सचिवालयले भन्यो– डाँका शैलीमा देउवामाथि आक्रमण भयो, पैसाको सुरुङ भेटिएको दुष्प्रचार गरियो

फाइल फोटो


नेपालखबर
असोज २, २०८२ बिहिबार २२:११, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई बदनाम गर्न सामाजिक सञ्जालमा विभिन्न भ्रामक खबर फैलाइएको बताएका छन्। 

बिहीबार देउवाको निजी सचिवालयले विज्ञप्ति प्रकाशित गरी ‘देउवा निवासमा अत्याधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरूङ रहेको’ जस्ता कपोकल्पित समाचार सम्प्रेषण भएको जनाएको छ।

जनमानसमा अपमानित गर्ने मनासयले प्रविधिको गलत प्रयोगबाट विभिन्न ठाउँमा विभिन्न समयका जलेका नोटका दृष्यहरू जोडेर सम्पादित फोटो र भिडियोहरू यूट्यूब तथा सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको देउवाका स्वकिय सचिव भानु देउवाले स्पष्ट पारेका छन्।

‘सामाजिक सञ्जालमा देखाइएका दृष्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामकका साथै दुसित मनासयले बदनाम गर्ने उदेश्यले फैलाइएका भ्रामक समाचार हुन्’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता बदनाम गराउने उदेश्यले विषेश गरी सामाजिक सञ्जालहरूमा फैलाइएका हल्लामा कुनै सत्यता नभएको स्पष्ट पार्दछु।’

विज्ञप्तिमा पूर्वप्रधानमन्त्री देउवा र पत्नी आरजु राणामाथि डकैती शैलीमा आक्रमण भएको बताइएको छ।

‘जेनजीको आन्दोलनलाई धमिलो बनाई आ–आफ्नो कुत्सित मनसाय पूरा गर्ने विभिन्न समूहहरूले २४ गते बिहानैदेखि अकल्पनीय ढंगको आतङ्क सिर्जना गर्ने, राजनैतिक दलको कार्यालय र नेताहरूको निजी निवास आक्रमण गर्ने जस्ता अपराधिक क्रियाकलाप भएकोप्रति भत्सना गर्दछौं। भदौ २४ गते डकैतीको शैलीमा नेपाली कांग्रेसका सभापतिको निवासमा प्रवेश गरेर सभापति देउवा, उहाँकी धर्मपत्नी केन्द्रीय सदस्य डा आरजु राणा देउवा लगायत माथि सांघातिक आक्रमण भएको हो’ विज्ञप्तिमा उल्लेख छ। 

देउवाले विभिन्न सामाजिक सञ्जालमा घर भित्र रहेको अन्डर ग्राउन्ड ट्यांकीलाई विभिन्न अनुमान गरेर प्रचार प्रसार गरेको देखिएको भन्दै उक्त पानी ट्याङ्की रहेको स्पष्ट पारेका छन्। 

उनले गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। साथै, घाइतेहरूको सीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्। 

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बूढानीलकण्ठस्थित देउवा निवासमा आक्रमण हुँदा पूर्वप्रधानमन्त्री देउवा र पत्नी आरजु राणा घाइते भएका थिए। देउवा दम्पतीको हाल उपचार भइरहेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad