राजनीति


नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की

नेपालखबर
असोज २, २०८२ बिहिबार २०:२९, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले चिनियाँ राजदूत छन सोङसँग नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएकी छन्।

प्रधानमन्त्री बनेयता कार्कीसँग बिहीबार राजदूत छनले पहिलो पटक भेटेका थिए।

‘हामी एकचीन नीतिप्रति प्रतिबद्ध छौँ। नेपालको भूमिबाट चीनविरोधी गतिविधि हुन दिँदैनौँ,’ प्रधानमन्त्री कार्कीले राजदूत छनसँग भनिन्।

कार्की प्रधानमन्त्री भएसँगै दलाई लामाको निर्वासित सरकारका अधिकारीहरूले तारन्तार बधाई दिन थालेपछि अन्तरिम सरकारको चीन नीतिप्रति कतिपयले प्रश्न गर्न थालेका थिए। तर, प्रधानमन्त्री कार्कीले पुरानै नीति निरन्तर रहने भन्दै उत्तरी छिमेकीलाई आश्वस्त पारेकी हुन्।

‘बीआरआई सहयोग परियोजनाहरूमा चीनसँग सहकार्य गर्न हामी तत्पर छौँ,’ राजदूत छनसँग प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘यो सरकारको प्राथमिकता चुनाव गराउने हो। चुनावमा पहिलेजस्तै चीनको सहयोगको अपेक्षा गरेका छौँ।’

राजदूत छनले पनि सरकारलाई आवश्यक परेको सहयोग गर्न चीन तत्पर रहेको बताएका थिए।

‘नेपाली जनताको चाहनालाई हामी सम्मान गर्छौं,’ राजदूत छनले भनेका थिए, ‘आगामी दिनमा पनि सहयोग गर्छौं। सरकारलाई के आवश्यक पर्छ असल छिमेकीको नाताले हामी सहयोग गर्न तत्पर छौँ।’

त्यसलगत्तै प्रधानमन्त्री कार्कीले अमेरिकी राजदूत डिन आर थम्प्सनसँग पनि भेट गरेकी थिइन्। अमेरिकी राजदूतलाई उनले एमसीसी परियोजना समयमै सम्पन्न गर्ने बताएकी थिइन्।

‘हामी एमसीसी परियोजना समयमै सम्पन्न गर्न प्रतिबद्ध छौँ,’ प्रधानमन्त्री कार्कीको भनाइ थियो, ‘यो सरकार जेनजी आन्दोलनको परिणामस्वरुप बनेको हो, हामी मानवअधिकार र लोकतन्त्रप्रति प्रतिबद्ध छौँ।’

राजदूत थम्प्सनसँग पनि उनले चुनावमा सहयोगको अपेक्षा गरेकी थिइन्। 

त्यसअघि बिहीबार नै प्रधानमन्त्री कार्कीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेकी थिइन्। २० मिनेट लामो वार्तामा मोदीले नेपालको शान्ति र स्थिरता पुनर्स्थापनाको प्रयासमा भारतको समर्थन रहने स्पष्ट पारेका थिए।

वार्तापछि मोदीले कार्कीसँगको कुराकानी उल्लेख गर्दै एक्समा लेखेका छन्, ‘शान्ति तथा स्थिरता पुनर्स्थापना गर्न उहाँले गर्नुभएका प्रयासप्रति भारतको अटल समर्थन रहने कुरा पुनः आश्वस्त गराएँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad