जेनजीको प्रदर्शनको फाइदा उठाउँदै भागेका झन्डै १३ हजार कैदीमध्ये २ हजार ५ सय जना पुन: कारागार फर्काइएका छन्।
सोमबार र मंगबार जेनजीले काठमाडौँसहित देशभर प्रदर्शन गरेका थिए। उक्त हिंसात्मक प्रदर्शनको फाइदा उठाउँदै विभिन्न २६ वटा कारागारका १२ हजार ८१७ जना कैदी भागेका थिए।
'आज दिउँसोसम्मको तथ्यांकअनुसार २५ सय कैदी फेरि कारागार आइसकेका छन्। यीमध्ये केही आफैँ आए, केहीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो,' कारागार व्यवस्था विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले नेपालखबरसँग भने, '१२ हजार ८१७ जना कैदी भागेका थिए। अहिले पनि फिर्ता आउनेक्रम जारी छ।’
त्यस दिन कारागारले नै पत्र थमाएको भन्दै सहकारी ठगीको अभियोगमा ललितपुरको नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रिहा भएका थिए।
उनले कारागारले सुरक्षा दिन नसक्ने भन्दै आफूलाई पत्र थमाएपछि बाहिर आएको प्रतिक्रिया दिएका छन्।
उनले सार्वजनिक गरेको पत्रलाई लिएर पनि अनेक टिप्पणी भइरहेको छ।
उक्त पत्रमा मिति सच्याएको, प्रतिवादीको नाम रवि लामिछाने नलेखी सुरेन्द्र राई लेखिएको र निलम्बित सांसद भए पनि माननीय भनी सम्बोधन गरेको पाइएपछि लामिछानेको चर्को आलोचना भइरहेको छ।
उक्त विवादित पत्रमा लेखिएको छ, 'देशमा अमन चयन कायम गर्न न्यायको प्रत्याभूति आवश्यक भएकोले गोरखा मिडियासँग सम्बन्धित विषयलाई सहकारीसँग जोडेर गरिएको राजनीतिक मुद्दामा हाल थुनामा रहनु भएका रविलामिछानेलाई थुनामुक्त गर्ने निर्णय गरिएको छ। मुद्दा फिर्ता गर्ने कानुनी प्रक्रियामा समय लाग्ने भएको र सो अवधिमा थुनामा राखिराख्दा थप अन्याय हुन जाने तथा देशमा अमन चयन थप खलबल पर्ने हुँदा निजलाई तत्काल थुनामुक्त गर्न निर्णयानुसार जानकारी गराइन्छ। मुलुकमा व्याप्त परिस्थितिलाई मध्यनजर गर्दै लामिछानेलाई रिहा हुन मन्जुर गर्नु भएकोमा गृहसचिवको आदेशअनुसार व्यहोरा अनुरोध छ।'
यो पत्रको बोधार्थ काठमाडौँ जिल्ला अदालत, कारागार व्यवस्थापन विभाग, जिल्ला परिसर टेकु, सशस्त्र प्रहरीलाई गरिएको छ।
यसबारे कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाल शर्माले आफूलाई यसबारे केही जानकारी नभएको प्रतिक्रिया दिए। 'रवि लामिछानेको विषयमा आएको पत्रका बारेमा मलाई केही जानकारी छैन। उहाँ कसरी छुट्नु भयो भन्नेबारे सम्बन्धित जेलरलाई नै थाहा होला।'
यसबारे थप जानकारी बुझ्न नक्खु कारागार प्रशासक सत्यराज जोशीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क भएन। उनको मोबाइल स्विच्ड अफ छ।
Shares

प्रतिक्रिया