जेन-जी आन्दोलनले देशलाई सरकारविहीन बनाएपछि प्रधानमन्त्री बन्ने महत्वाकांक्षाले काठमाडौँ आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ यतिबेला आफूजस्तै स्वतन्त्र रूपमा स्थानीय तहको चुनाव जितेर काठमाडौँ महानगरपालिकाको प्रमुख बनेका बालेन्द्र शाह ‘बालेन’लाई आफ्नो प्रमुख प्रतिस्पर्धी ठानिरहेका छन्।
जबकि मेयर बालेन प्रधानमन्त्री बन्ने दौडमा छैनन्। बरु उनले आफ्नो समर्थन पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सुम्पिसकेका छन्।
तर पनि साम्पाङ आफू प्रधानमन्त्री बन्नमा मुख्य बाधक बालेन नै भएको जसरी प्रस्तुत भइरहेका छन्।
यस क्रममा उनले फेसबुकमा लगातार बालेनलक्षित स्टाटस लेखिरहेका छन्। हुँदाहुँदा साम्पाङले एउटा अन्तर्वार्ताजस्तो भिडिओ सेयर गर्दै बालेनको आलोचना गरेका छन्।
भिडिओमा उनले आफू पनि एउटा स्थानीय तहको मेयर हो भन्ने कुरासमेत भुलेर प्रधानमन्त्री भनेको कुनै पालिकाको मेयरजस्तो होइन भनेर बालेनविरुद्ध टिप्पणी गरेका छन्।
उनले भनेका छन्, ‘प्रधानमन्त्री भनेको कुनै एउटा महानगरपालिका, पालिकाको मेयर होइन क्या।’
तर अझ उपमहानगरपालिकाको मेयर नै रहेको आफू भने प्रधानमन्त्री पदका लागि योग्य रहेको दाबी पनि उनले गरेका छन्।
उनले अगाडि भनेका छन्, ‘ताप्लेजुङको माथि फक्ताकलुङमा गएर गोठमा सुत्नसक्नुपर्छ। म त बस्तीमा, लामखुट्टेको घारीमा सुत्न सक्नुपर्छ। त्यो खालको मान्छे चाहियो होला नि अब? खालि काठमाडौँभन्दा बाहिर ननिस्कने मान्छेहरूलाई यो देश सुम्पिराखेको कारणले गर्दा न हामीलाई सिमानाको ज्ञान छ न हामीलाई जनजीवनको ज्ञान छ।’
जेन-जीले बालेनलाई चाहे पनि पछि हटेको भन्दै उनी देशको नेतृत्व गर्न नसक्ने मानिस भनी मेयर साम्पाङले आलोचना गरेका छन्।
उनले भनेका छन्, ‘बालेनजीलाई नेतृत्व गर्नु भन्या हो नि त धेरै युथले। अनि उहाँ त सक्नुहुन्न रछ त। ब्याक सर्नु भो त। त्यो टाइपको मान्छेले देशको नेतृत्व गर्छ त अब? त्यत्रो तमाम जेनजीलाई आएर अब बालेनजी नेतृत्व लिन आउनुपर्यो भन्दाखेरि नआको कारणले पनि त्यो भको हुन सक्छ। एउटा अभिभावकजस्तो मान्छेले त्यो भिडलाई नियन्त्रण गरेर आन्दोलन गरेको भए यस्तो अराजक देखियो नि त्यो हुँदैन होला थियो नि सायद। विदआउट लिडरसिप, सडकमा नानीहरू कुदिराख्याथ्यो। उनीहरूलाई कन्ट्रोल हुन्थ्यो होला बालेनजी आको भए। आउनुभो? २ बजेसम्म आउनुहुन्छ भने आउनुहुन्छ, वि डन्ट एक्सेप्ट यु भनेपछि बल्ल निस्किएको होइन, नगर प्रहरीको घेरामा? म त सडकमा थिएँ।’
सुन्नुहोस्, भिडिओ:
Shares

प्रतिक्रिया