जेनजी आन्दोलनपछि जंगी अड्डामा वार्ता चलिरहेका बेला प्रधानसेनापति अशोकराज सिग्देललाई भेट्न पुगेका दुर्गा प्रसाईंले जेन-जी युवालक्षित दमन र गिरफ्तार गर्न थालिएको दाबी गरेका छन्।
आन्दोलनका नाममा लुटपाट र व्यक्ति आक्रमणमा संलग्ननहरूविरुद्ध नेपाली सेनाले कारबाही सुरु गरेका बेला उनले यो जेन-जीलाई त्रासमा पार्न खोजिएको आरोप लगाएका हुन्।
उनले यो सिलसिला नरोकिए मुलुक गृहयुद्धमा धकेलिने चेतावनीसमेत दिएका छन्।
‘आज जेन-जी युवाहरूलाई लक्षित गरेर दमन गर्ने, गिरफ्तार गर्ने र डर देखाउने काम भइरहेछ। उनीहरूबीच मतभेद बढ्दै गइरहेको छ, नेतृत्वको सही पहिचान हुन सकेको छैन र कोही अघि बढ्न हिच्किचाइरहेका छन्। यसकै नतिजा फेरि उही दलाल, भ्रष्ट र देशद्रोहीहरूले टाउको उठाउने अवसर पाउनेछन्’, प्रसाईंले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसैले यो आन्दोलनलाई सार्थक बनाउन समयमै गम्भीर निर्णय लिन आवश्यक छ। नेपाली सेनाले चनाखो भएर नागरिकको जीवन र सम्पत्ति रक्षा गर्नुपर्ने बेला अहिले हो। जेन-जीहरूलाई लक्षित गरेर गरिएका धडपकड र गिरफ्तारी तत्काल रोक्नुपर्छ, अन्यथा मुलुक अझ भयावह गृहयुद्धतर्फ धकेलिने निश्चित प्रायः भइसकेको छ।’
Shares

प्रतिक्रिया