सभामुख देवराज घिमिरेले संसदीय प्रक्रिया र संघीय संसद सचिवालयमा कृत्रिम बौद्धिकतासम्बन्धी प्रविधि (एआई) को उपयोगबारे अध्ययन भइरहेको बताएका छन्।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले संसद तथा समितिमा हुने भाषणलाई स्वचालित रूपमा ‘स्पिच–टु–टेक्स्ट’ मा रूपान्तरण गर्ने, अटोमेसनमार्फत समयमै काम सम्पन्न गर्ने र विधेयकसँग सम्बन्धित डेटा छिटो खोज्ने तथा विश्लेषण गर्ने काममा एआई निकै उपयोगी हुने विश्वास व्यक्त गरे।
यसले सांसदहरूलाई नीति निर्माणमा समयमै तथ्यांक र सुझाव उपलब्ध गराउन मद्दत गर्ने उनको भनाइ छ।
उनले भने, ‘संसदीय प्रक्रिया र संघीय संसद सचिवालयमा एआईको उपयोगले कार्यसम्पादनलाई सहज र पारदर्शी बनाउन सकिनेबारे हामीले अध्ययन गरिरहेका छौं। संसद तथा समितिमा हुने भाषणलाई स्वचालित रूपमा ‘स्पीच–टु–टेक्स्ट’ मा रूपान्तरण गर्ने, अटोमेसन मार्फत समयमै काम सम्पन्न गर्ने र विधेयकसँग सम्बन्धित डेटा छिटो खोज्ने तथा विश्लेषण गर्ने काममा ए.आई. निकै उपयोगी हुन सक्छ। यसले सांसदहरूलाई नीति निर्माणमा समयमै तथ्याङ्क र सुझाव उपलब्ध गराउन मद्दत गर्छ। नेपालको सन्दर्भमा पनि ए.आई. ले संसदीय सूचना प्रणालीलाई सुदृढ पार्न सक्नेमा दुईमत छैन। जनताको गुनासो व्यवस्थापन, विधेयकको प्रारम्भिक मूल्याङ्कन, नीतिगत निर्णयको प्रभाव विश्लेषण जस्ता कार्यलाई एआईबाट सरल बनाउन सकिन्छ। तर, गलत सूचना, ह्याकिङ र डाटा सुरक्षाको चुनौतीलाई ध्यानमा राख्दै प्रयोग गर्नु आवश्यक छ। आजको कार्यक्रमको अन्तिम सेसनमा संसदमा ए.आई. जस्ता प्रविधिको प्रयोगबारे हुने छलफलले केही दिशानिर्देशन गर्ने अपेक्षा लिएको छु।’
कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगले दैनिक जीवनलाई सहज र प्रभावकारी बनाउनुका साथै डेटा चोरी तथा सुरक्षात्मक पक्षमा जोखिम पनि निम्त्याएकाले त्यसतर्फ सजग हुनुपर्ने उनको भनाइ थियो।
‘नियमित स्वास्थ्य परीक्षणमा भिडिओमार्फत सुझाव लिन सकिने, रोगको प्रारम्भिक चरणमै पहिचान गर्न सकिने, दूरदराजमा टेलिमेडिसिन सेवा उपलब्ध गराउन सकिने र आपतकालीन अवस्थामा प्रारम्भिक चेतावनी प्रणालीबाट जोखिम घटाउन सकिनेजस्ता धेरै सकारात्मक प्रभाव छन्,’ सभामुख घिमिरेको भनाइ थियो, ‘विभिन्न क्षेत्रका निर्णय प्रक्रियामा एआईको विश्लेषणात्मक क्षमता उपयोगी हुन्छ, जसले समय र स्रोत दुवैको बचत गर्छ। तर एआईसँग केही गम्भीर बेफाइदा पनि छन्। गलत सूचना र भ्रम फैलाउने ‘डिपफेक’ प्रविधि, साइबर ठगी तथा संवेदनशील व्यक्तिगत डेटा चोरी हुने सम्भावना लगायतका समस्या बढिरहेका छन्। त्यस्तै, कृत्रिम बुद्धिमत्ताले मानव श्रमलाई विस्थापित गर्ने खतरा पनि छ, जसले बेरोजगारी बढाउन सक्छ। त्यसैले, यसको प्रयोग गर्दा सुरक्षात्मक र नैतिक मापदण्डमा विशेष ध्यान दिन जरुरी छ।’
सभामुख घिमिरेले गलत सूचना, ह्याकिङ र डाटा सुरक्षाको चुनौतीलाई ध्यानमा राख्दै एआईको प्रयोग गर्नु उचित हुने उनको बुझाइ छ।
Shares

प्रतिक्रिया