राजनीति


ओलीले ल्याए ‘नेपाली विशेषताको समाजवाद’, जबज विस्थापित गर्न खोजेका हुन्?

ओलीले ल्याए ‘नेपाली विशेषताको समाजवाद’, जबज विस्थापित गर्न खोजेका हुन्?

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार १५:३८, काठमाडौँ

नेकपा एमालेले पाँचौँ महाधिवेशनदेखि जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गर्दशक सिद्धान्त मान्दै आएको छ। मदन भण्डारीले प्रतिपादन गरेको यस कार्यक्रमलाई पार्टीले अंगीकार गर्ने कि नगर्ने भन्नेमा बहस यसअघि पनि चल्दै आएको छ। तर, यसका खरो आलोचक मानिएका झलनाथ खनालले नै पार्टीको नेतृत्व गर्दा पनि मदनको त्यो कार्यक्रम विस्थापित गर्न सकेका थिएनन्। जबकि, उनले पाँचौँ महाधिवेशनमा जबजलाई ‘दक्षप्रजापतिको टाउको’ उपमा दिएकाथिए।

तर, जबजका खरो पक्षपाती मानिएका एमालेका हालका अध्यक्ष केपी शर्मा ओलीले जबज विस्थापन गर्ने संकेत देखाएका छन्। उनले त्यसको विकल्पमा ‘नेपाली विशेषताको समाजवाद’ अघि सारेका छन्।

नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष ओलीले नेपाली समाजको विशेषताअनुरूप समाजवादी राज्यप्रणालीसम्बन्धी प्रस्ताव अघि सारेका हुन्। 

उनले नेपाली विशेषताको समाजवादको अवधारणा अघि सार्दै समाजको विशेषताका आधारमा बहुलता र विविधतालाई समाजवादी राज्य प्रणालीमा जोड्ने बताएका छन्।

ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन उपमहासचिव प्रदीप ज्ञवाली वाचन गर्दै छन्।

यस्तो छ ओलीको प्रस्ताव
राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले नेपाली विशेषताको समाजवादको अवधारणा प्रस्तावमा भनिएको छ, ‘नेपाली समाजको विशेषताको रूपमा रहेको बहुलता र विविधतालाई समाजवादी राज्यप्रणालीमा सामञ्जस्यका साथ अगाडि बढाइनेछ। एकरुपतामा एकता होइन, विविधतामा एकतालाई प्रवर्धन गरिनेछ।’

नेपाली विशेषताको समाजवादको अनिवार्य कार्यभारमा राष्ट्रिय हितको रक्षा, राष्ट्रिय स्वाभिमान, पहिचान र स्वाधीनताको रक्षा तथा विकास भनेर नविन व्याख्या गरिएको छ।

नेपाली विशेषताको समाजवादको एक मुख्य आधार ‘परिपूर्ण लोकतन्त्र’लाई अघि सारिएको छ।

अध्यक्ष ओलीलीद्वारा प्रस्तावित राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘नेपाली विशेषताको समाजवादको एउटा महत्वपूर्ण पक्ष हो– यसले लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यताहरुलाई आत्सात् गर्नेछ। संविधानको सर्वोच्चता, विधिको शासन, मनाव अधिकार, शक्ति पृथकीकरण र आवधिक निर्वाचन जस्ता विषयहरू राज्यसञ्चालनका अभिन्न विषय हुनेछन्। दलहरूको बिचको प्रतिष्पर्धा सुनिश्चित गरिनेछ। जनताको अभिमतबाट मात्रै शासन सञ्चालन गर्ने, अनिर्वाचित सत्ता नहुने कुराको प्रत्याभूति गरिनेछ।’

प्रतिवेदनमा वर्ग संरचना खण्डअन्तर्गत निम्न वर्ग, मध्यम वर्ग,  उच्च वर्गलाई चित्रण गरिएको छ। जसमा निम्न वर्गको आर्थिक आय प्रायः रु. १.५ लाखभन्दा कम भएको, मध्यम वर्गमा वार्षिक आय करिब रु. १.५–५ लाख हुने, उच्च वर्गमा वार्षिक आय रु. ५ लाखभन्दा माथि भएकालाई आधार मानिएको छ।

जबज विस्थापनको संकेत
ओलीले जबजको मर्ममाथि प्रहार गरेको, जबजलाई नै क्षतिग्रस्त बनाएको लगायत आरोप पूर्वराष्ट्रपति विद्या भण्डारी खेमाले लगाउँदै आएको छ।

जबजलाई विस्तारै असान्दर्भिक सावित गरेर ओलीको विचारलाई पार्टीमा स्थापित गराउन खोजेको भनेर विद्या पक्षधर नेताहरूले आशंका व्यक्त गर्दै आएका थिए।

केही समययता ओलीले सुखी नेपाली, समृद्ध नेपालको नारामा जोड दिँदै आएका थिए।

विधान महाधिवेशनमा भने उनले नेपाली विशेषताको समाजको प्रस्तावना अघि सारेका छन्। यस विषयमा महाधिवेशन प्रतिनिधिहरूको प्रतिक्रिया के आउँछ र पार्टीभित्र देखिएका दुवै खेमाले कसरी लिन्छन् भन्ने यही महाधिवेशनका छलफलहरूमा देखिनेछ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा विद्या भण्डारीकै सामु ओलीले मदनका विषयमा विवादास्पद टिप्पणी गरेका थिए। ‘कसैले सहकारी ठग भन्थे, कसैले चार श्रीमती छन् भन्थे’ उनले भनेका थिए।

त्यस्तै जबज पनि मदनको एक्लैले ल्याएको नभएर पार्टीमा सामूहिक छलफल र व्यापक विमर्शपछि विकास भएको उनको भनाइ थियो।

ओलीले जबजको अवहेलना गरेको भन्दै विद्या खेमाले मदन भण्डारी फाउन्डेसनमार्फत यो वर्षभरि देशभर अभियानकै रूपमा कार्यक्रम घोषणा गरेको छ। यस अभियानका संयोजक बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad