राजनीति


राष्ट्रपति सीको रात्रिभोजअघि भियतनामी प्रधानमन्त्री र माल्दिभ्सका राष्ट्रपतिसँग ओलीको भेटवार्ता

राष्ट्रपति सीको रात्रिभोजअघि भियतनामी प्रधानमन्त्री र माल्दिभ्सका राष्ट्रपतिसँग ओलीको भेटवार्ता

तियान्जिनमा प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर: प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
भदौ १५, २०८२ आइतबार १२:९, काठमाडौँ

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपरान्ह दुई एसियाली मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग तियान्जिनमा भेटवार्ता गर्ने भएका छन्।

सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनको क्रममा चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले एससीओ राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङले आयोजना गर्ने रात्रिभोजअघि प्रधानमन्त्री ओलीले दुई राष्ट्राध्यक्ष–सरकार प्रमुखसँग भेटवार्ता गर्न लागेका हुन्।

यसमध्ये दक्षिण–पूर्वी एसियाली मुलुक भियतनामका प्रधानमन्त्री फाम मिन्ह चिन्ह र दक्षिण एसियाली टापु राष्ट्र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मोइज्जुसँग प्रधानमन्त्री ओलीको भेटवार्ता हुन लागेको हो। जानकारी अनुसार, चिनियाँ समय अनुसार अपरान्ह ४ बजे प्रधानमन्त्री ओली र भियतनामी प्रधानमन्त्री फामबीच तियान्जिनस्थित होटल क्राउन प्लाजामा भेटवार्ता हुनेछ।

दुई प्रधानमन्त्रीबीच भेटवार्ताका लागि आधा घण्टा समय तय गरिएको छ।

भियतनामका प्रधानमन्त्रीसँगको भेटपछि प्रधानमन्त्री ओलीले दक्षिण एसियाली मुलुक माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुसँग भेटवार्ता गर्नेछन्। साँझ ५ बजे हुने यो भेटवार्ता पनि आधा घण्टा अवधिको र होटल क्राउन प्लाजामै हुनेछ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रथम महिला पेङ लिउआनले साँझपख एससीओ शिखर सम्मेलनमा निम्त्याइएका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूको स्वागतमा रात्रिभोज आयोजना गरेका छन्।

साँझ ७ बजे सुरु हुने सो रात्रिभोजमा प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य र प्रतिनिधिमण्डलका बाँकी ६ सदस्यसहित उपस्थित हुनेछन्।

चीन भ्रमणको दोस्रो दिन प्रधानमन्त्री ओलीको पहिलो कार्यक्रम जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको अवलोकनबाट सुरु भएको थियो। लगत्तै उनले चाउ एन–लाई र तङ यिङ्चाओ स्मृति संग्रहालयको अवलोकन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad