राजनीति


महाधिवेशन प्रतिनिधिलाई बालुवाटार बोलाएर ओलीको प्रशिक्षण: विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन

महाधिवेशन प्रतिनिधिलाई बालुवाटार बोलाएर ओलीको प्रशिक्षण: विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन

नेपालखबर
भदौ १२, २०८२ बिहिबार ६:५९, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको ‘काउन्टर’ तयारीपछि केन्द्रीय कमिटी बैठक अनिश्चित कालको लागि स्थगित गराएका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले  विधान महाधिवेशनका प्रतिनिधिलाई बुधबार साँझ बालुवाटारमा बोलाएर लामो प्रशिक्षण दिएका छन्।

ओलीले एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलासहित काठमाडौँबाट प्रतिनिधित्व गर्ने विधान महाधिवेशनका प्रतिनिधिलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर लामो प्रशिक्षण दिएका हुन्।

अध्यक्ष निरौलाले ओलीले दिएको प्रशिक्षणको विषय सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन्। प्रशिक्षणको संयोजन भने नेता रामेश्वर फुँयालले गरेका थिए। 

अध्यक्ष निरौलाका अनुसार प्रशिक्षणका क्रममा प्रधानमन्त्री ओलीले पार्टीभित्र आफ्नो प्रतिस्पर्धी विद्या भण्डारीबाहेक कोही नभएको पनि बताएका छन्। उनले प्रशिक्षणमा ओलीले भनेका विषयलाई ४८ बुँदामा समेटेर सार्वजनिक गरेका छन्।

प्रशिक्षणका क्रममा ओलीले केही नेताले भण्डारीको फोटो राखेर धन्दा गरेको भन्दै आक्रोससमेत व्यक्त गरेका छन्। विद्या भण्डारीले आफ्नो पार्टी सदस्यता च्यासलले सदस्यता खायो भन्ने गरे पनि त्यो सत्य नभएको ओलीको भनाई छ।

सदस्यताको लागि विद्याले पार्टीमा निवेदन नै नदिएको दाबी पनि ओलीले गरेका छन्। 

त्यसैगरि ओलीले विगतमा बामदेव गौतमले पार्टी नफुटाएको भए पार्टीको दुई तिहाइ मत आउने दाबी पनि प्रस्तुत गरेका छन्। 

विद्या भण्डारीसँग कुराकानीको लागि आफूले बालुवाटारमा बोलाउँदा नआएको र पछि पार्टी कार्यालयमा कुराकानी हुँदा भण्डारीले तपाईं सक्नुहुन्न मलाई सहयोग गर्नुस् भनेको पनि ओलीले सुनाएका छन्। 

विद्याले त्यसो भन्दा आफूले तपाईं पार्टी चलाउने भ्रम नपाल्नुस्, अनुभव छैन भनेर सम्झाएको 
उनको भनाई छ। उनले विद्यालाई मदन भण्डारीको सेन्टीमेन्टले अब काम नगर्ने भनेर पनि सम्झाएको बताएका छन्।

अध्यक्ष निरौलाका अनुसार ओलीले पूर्व राष्ट्रपति भएको व्यक्तिले असोभनिय गतिविधि गर्नु नहुने, पार्टीको पक्षमा नबोलेकाहरुलाई भेला पारेर हिँडेको, आफूले पार्टीलाई अगाडि बढाइरहेको तर कतिपयले यो नदेखेको, मदन भण्डारी फाउन्डेसनले जबज बचाउन नसक्ने, विद्या भण्डारीलाई उचालेर ईश्वर पोखरेलले बाटो बिराएको, उनले अभागीलाई खाने बेलामा रिस उठेजस्तै व्यवहार गरेको जस्ता टिप्पणी पनि गरेका छन्। 

विद्यालाई आफूले जति सम्मान अरु कसैले पनि नगरेको तर साथ दिँदा पनि अहिले आफू विद्याबाटै अपमानित हुनु परेको, विद्याबाहेक पार्टीमा आफूलाई चुनौति दिने दम कसैसँग नभएको, विद्याले आफूलाई छाडे सबै मिल्ने पनि ओलीले बताएका छन्। 

विद्यान महाधिवेशनमा एकदिन दस्ताबेज प्रस्तुत हुने, एक दिन छलफल चल्ने र अर्कोदिन समापन हुने पूर्वानुमान पनि ओलीेले लगाएका छन्। विधानमहाधिवेश एकताको महाधिवेश हुने अन्यथा गर्नेलाई हिसाबकिताब गरिने धम्की पनि उनले दिएका छन्। 

त्यसैगरि ओलीले पार्टीका साथीहरुको आम चाहनाको आधारमा पार्टीमा ७९ वर्से उमेर हद हटाएको र आफू स्वस्थ रहेको सुनाएका छन्।  
 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad