ईश्वरी न्यौपानेले संघीय संसद्को संसदीय सुनुवाइ समितिको सभापति पदबाट राजीनामा दिएकी छन्। उनको पार्टी नेपाली कांग्रेसले उनलाई प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनाउने निर्णयसँगै उनले सभामुख देवराज घिमिरेलाई भेटेर राजीनामा पत्र बुझाएकी हुन्।
'सुनुवाइ समितिबाट राजीनामा दिएँ। पत्र सभामुखको सचिवालयमा दर्ता गरेको छु,' न्यौपानेले नेपालखबरसँग भनिन्, 'अब राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवार दिन्छु।'
राजीनामा पत्रमा उनले सुनुवाइ समितिमा विशेष कारणले पदमा रही रहन नसक्ने व्यहोरा उल्लेख गरेकी छन्।
'संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २५ बमोजिम गठित संसदीय सुनुवाइ समितिको सभापति पदमा रही रहन विशेष कारणले म असमर्थ भएको अवगत गराउँदै आजै / तत्काल लागू हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु' न्यौपानेले सभामुखलाई बुझाएको पत्रमा उल्लेख छ।
संघीय निजामति सेवा विधेयकमा कुलिङ पिरियडको विषयमा छानबिन गर्न कांग्रेसका सहमहामन्त्री जीवन परियारको समितिले सभापति रामहरि खतिवडालाई नैतिकतामा प्रश्न उठाउँदै जिम्मेवार ठहर्याएको थियो।
त्यसपछि खतिवडाले राजीनामा दिएका थिए। रिक्त सभापति पदमा आज मनोनयन हुँदैछ। आजै सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा न्यौपानेको नाममा सहमति जुटेको थियो।
Shares

प्रतिक्रिया