नेकपा एमाले सचिव योगेश भट्टराईले वर्तमान सरकारको कार्यकालभित्रै संविधान संशोधनको प्रश्ताव संसदमा ल्याउने बताएका छन्।
काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
निर्वाचन प्रणाली संविधान संशोधनसँग जोडिएको र सरकारले संविधान संशोधनको एजेण्डालाई प्राथमिकतामा राखेको बताए।
उनले संशोधन प्रस्ताव लैजाने बारेमा संसदका सबै राजनीतिक दलसँग छलफल हुने पनि स्पष्ट पारे।
उनले संविधान संशोधनका लागि संसदको दुई तिहाई बहुमत आवश्यक पर्ने भन्दै नेपाली कांग्रेस र एमालेको समर्थनले मात्रै संविधान संशोधन हुन नसक्ने बताए।
संविधान संशोधनका एजेण्डालाई नागरिकमा पनि लगेर छलफल गर्ने बताए। सकेसम्म सर्वसम्मत हुनेगरी संविधान संशोधनको प्रस्ताव लैजाने प्रतिवद्धता जनाए।
सचिव भट्टराईले भने, ‘हामी यो सरकारको कार्यकालभित्र संविधान संशोधनको प्रस्ताव संसदमा ल्याउँछौँ, यति कुरा म ढुक्कसित भन्छु। त्यसमा केके विषय होलान् हामीले छलफल गरौँला। जे विषयमा संशोधन प्रस्ताव लैजाने हो त्यो संसदका सबै राजनीतिक दलसँग बसेर हामी छलफल गर्छौं। किनभने संसदको दुई तिहाई बहुमत चाहिन्छ। कांग्रेस र एमालेको मात्रै समर्थनले संविधान संशोधन हुँदैन।’
सचिव भट्टराईले राजनीतिक दलहरुको अडिट पनि महालेखाले गर्नुपर्ने प्रस्ताव गरे।
Shares

प्रतिक्रिया