नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आवधिक निर्वाचन समयमै गर्ने कुरामा कसैले दायाँबायाँ गर्न नसक्ने बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले दक्षिण एशियाका धेरै देशहरूमा आवधिक निर्वाचन समयमै नहुने बताए। समयमै आवधिक निर्वाचन हुने कुरालाई नेपालमा कसैले हल्लाउन नसक्ने उनको भनाइ छ।
निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सरकारले विधेयकका रुपमा ल्याउँदा निर्वाचन आयोगले पेस गरेका कुराहरू पनि हटाएर ल्याउनसक्ने भन्दै सबै चनाखो हुनुपर्ने बताए।
उनले भने, ‘दक्षिण एशियाका थुप्रै देशहरुमा समयमा आवधिक निर्वाचन हुँदैन। हाम्रोमा हुन्छ। यो आवधिक निर्वाचन हुने कुरालाई कसैले पनि हल्लाउन सक्दैन। आवधिक निर्वाचन हुन्छ भनेर भनेको ठाउँमा पनि नाममात्रैको निर्वाचन हुन्छ। हाम्रोमा राम्रै निर्वाचन हुन्छ। हाम्रो इलेक्शन फेयर हुन्छ, फ्रि हुन्छ। सरकारको तर्फबाट विधेयकको रुपमा आउँदा अहिले आएका कतिपय कुराहरु हटेर आउनसक्छ। यसमा ख्याल गर्नुपर्छ।’
आवश्यकताका आधारमा विधेयकमा थपघट गरेर जान सकिने उनको भनाई थियो।
महामन्त्री थापाले निर्वाचनको उम्मेदवार छनौट गर्नेकुरा जुन ठाउँमा निर्वाचन हुने त्यहीँका पार्टी सदस्यले उम्मेदवार छान्न पाउने कुरा राम्रो भएको बताए। मतदाता शिक्षा नागरिकमाझ विस्तार गर्न जरुरी रहेको उनले स्पष्ट पारे।
Shares

प्रतिक्रिया