राजनीति


लाओसमा कम्युनिस्टको शासकीय अनुभवसम्बन्धी बहस, नेपालबाट विष्णु रिजालको प्रस्तुति

लाओसमा कम्युनिस्टको शासकीय अनुभवसम्बन्धी बहस, नेपालबाट विष्णु रिजालको प्रस्तुति

नेपालखबर
भदौ ३, २०८२ मंगलबार १९:३८, काठमाडौँ

लाओसको राजधानी भेन्टेइनमा ‘मार्क्सवादी राजनीतिक दलहरुको शासकीय अनुभव’ विषयक अन्तर्राष्ट्रिय बहस सम्पन्न भएको छ।

चीनको क्वाङ्सी विश्वविद्यालयको स्कुल अफ मार्क्स र लाओ नेसनल युनिभर्सिटीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा चीन, भियतनाम, लाओस र नेपालका करिब १०० जना प्राध्यापक, अध्येता तथा बुद्धिजीवी सहभागी भएका थिए। यो बहसको छैटौँ संस्करण हो। यसअघि चीनमै हुँदै आएको कार्यक्रम पहिलोपटक लाओसमा गरिएको हो।

नेपालतर्फबाट नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले नेपालको अनुभव प्रस्तुत गरेका थिए। उनले एमालेले विधान महाधिवेशनमार्फत ‘नेपाली विशेषता अनुरुपको समाजवाद’ को लक्ष्य अघि सारेको बताउँदै समाजवाद हरेक मुलुकले आफ्ना विशेषता अनुसार अपनाउनुपर्ने आवश्यकता औंल्याए।

रिजालले आफ्नो मन्तव्यमा जननेता मदन भण्डारीले प्रस्तुत गरेको जनताको बहुदलीय जनवाद कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिएको स्मरण गर्दै आज एमाले लोकप्रिय जनमतका आधारमा नेपालको पहिलो शक्ति बनेको टिप्पणी गरे।

साथै उनले विश्व कम्युनिस्ट आन्दोलनसँग सम्बन्धित ५ वटा मूल प्रश्नहरू पनि प्रस्तुत गरे, जसमा सशस्त्र र शान्तिपूर्ण क्रान्तिको प्रवृत्ति, कम्युनिस्ट आन्दोलनको घट्दो लोकप्रियता, प्रविधि र आविष्कारको प्रभाव लगायत विषय समेटिएका थिए।

कार्यक्रममा सहभागी चीन, भियतनाम र लाओसका प्रतिनिधिहरुले पनि आफ्ना-आफ्ना शासकीय अनुभव प्रस्तुत गरेका थिए। उनीहरुले समाजवादलाई देशको मौलिक परिस्थिति अनुसार विकास गर्नुपर्नेमा जोड दिएका थिए।

रिजालले बहसका लागि पेस गरेका ५ विषय
. आजको विश्व कम्युनिस्ट आन्दोलनको मूल प्रवृत्ति के हो- सशस्त्र कि शान्तिपूर्ण? 

. यदि सशस्त्र क्रान्ति कम्युनिस्ट आन्दोलनको विश्वव्यापी मूल प्रवृत्ति हो भने सन् १९७५ मा लाओसपछिको आधा शताब्दीमा किन् अर्को कुनै सशस्त्र क्रान्ति सफल भएको छैन?
 
. यदि शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीति नै कम्युनिस्टहरुको अबको मूल प्रवृत्ति हो भने किन चुनावबाट पनि कम्युनिस्टहरुले नेपालगायत सीमित देशबाहेकमा सफलता हासिल गर्न सकिरहका छैनन्? 

. कम्युनिस्ट सिद्धान्त बैज्ञानिक, श्रमजीवी जनताको मुक्तिको बैचारिक अस्त्र र सर्वकालिक हुँदाहुँदै पनि यसको विश्वव्यापी लोकप्रियता किन घटिरहेको छ?

. युगमा आएको परिवर्तन, प्रविधिमा भएको उन्नत विकास र नयाँ-नयाँ आविस्कारहले हाम्रो सिद्धान्तमा कस्तो प्रभाव पार्दछ? र त्यसलाई हामीले कसरी क्रान्तिका पक्षमा उपयोग गर्न सक्छौँ? अनि यसबाट सिर्जित नयाँ खालको विभेद, शोषण र साम्राज्यलाई हाम्रो सिद्धान्तले कसरी सम्बोधन गर्दछ?
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad