पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित सम्पर्क कार्यालयलाई विधिवत् रुपमा सञ्चालनमा ल्याउने तयारी गरेकी छन्।
‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयका नामबाट उक्त भवनको उद्घाटन यही भदौ ५ गते हुँदैछ।
कार्यालयको उद्घाटन पूर्वराष्ट्रपति भण्डारीले गर्ने ‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’का संयोजक डोरमणि पौडेलले जनाएका छन्।
पार्टी राजनीतिमा पुनः सक्रिय भएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको संगठन र जनताको बहुदलीय जनवाद (जबज) को विस्तार गर्न भन्दै आफ्नै संरक्षकत्वमा बेग्लै संयन्त्रको अभ्यास सुरू गरेकी हुन्।
उक्त संयन्त्रका लागि पूर्वराष्ट्रपति भण्डारीले आफ्ना पति एवम् नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीले २०४८ सालमा चुनावी कार्यक्रमका लागि सम्पर्क कार्यालय खोलेको घरलाई नै सम्पर्क कार्यालयका रुपमा रोजेकी छन्।

छोरी उषाकिरण भण्डारी अध्यक्ष रहेको मदन भण्डारी फाउन्डेसनले मदन भण्डारीको हीरक जन्म जयन्ती मनाउन भन्दै डोरमणि पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति घोषणा गरिएको थियो। यसअघि बागमती प्रदेशको मुख्यमन्त्री भएका पौडेल भण्डारीका प्रियपात्र मानिन्छन्।
यता, पूर्वराष्ट्रपति भण्डारीको सक्रियतालाई रोक्न प्रयास गरिरहेका प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनलाई भने ‘ठगीखाने भाँडो’ बनेको आरोप लगाएका छन्।
गएको साउन २६ गते च्यासलमा मदन–आश्रित प्रतिष्ठानका पदाधिकारीलाई शपथ खुवाउँदै ओलीले भनेका थिए, ‘त्यो त्यतिकै व्यक्तिगत बनाएको छ, व्यक्तिको हो कि परिवारको हो जस्तो। श्रीमान, श्रीमतीको हो कि आन्दोलनको निम्ति काम गर्छ कि? के हो त्यो ठगीखाने भाँडो बनेको छ। त्यो पार्टीका नाममा बनाइएको संस्था हो।’
एमालेको राजनीतिमा फर्केको घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारीलाई रोक्न अध्यक्ष ओलीले केन्द्रीय कमिटीबाटै निर्णय गराएर सदस्यता नवीकरण रोकेका थिए। तर भण्डारी भने मदन भण्डारी फाउन्डेसनमार्फत आफ्नो राजनीतिक गतिविधि अगाडि बढाउन प्रयासरत छिन्।
Shares

प्रतिक्रिया