नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी २०४८ मा भएको आम निर्वाचनमा काठमाडौँको चर्चित निर्वाचन क्षेत्र नम्बर १ मा विजयी भए। तर २ वर्ष नबित्दै पोखराबाट चितवन जाने क्रममा २०५० जेठ ३ गते उनी सवार जिप दासढुंगामा रहस्यम तरिकाले दुर्घटना भयो र जीवराज आश्रितसँगै उनको निधन भयो।
पाँच वर्षका लागि चुनिएका जनप्रतिनिधि बितेपछि उक्त क्षेत्र रिक्त भयो। त्यसका लागि निर्वाचन आयोगले २०५० माघ २५ गतेका लागि उपनिर्वाचन घोषणा गर्यो।
एमालेका चर्चित नेता मदनको निधनले खाली भएको क्षेत्रमा अब कसलाई उठाउने? एमालेभित्र बहस भयो। अन्तत: उनकै जीवनसंगिनी विद्या भण्डारीलाई उम्मेदवार बनाउने निर्णय एमालेले गर्यो।
तर विद्याको पारिवारिक अवस्था नाजुक थियो। एकातिर पतिवियोग, अर्कातिर ससाना २ छोरीको जिम्मेवारी। जसले गर्दा उनको चुनाव प्रचार अभियान के कस्तो हुने हो भन्ने आशंका नेताहरूलाई थियो।
तर चुनावमा हामफालिसकेकी विद्या हतोत्साही हुने पक्षमा थिइनन्। उनले चुनावका लागि केही रणनीति बनाइन्। जसमा थियो- मदनको शैलीको चुनावी प्रचार गर्ने। त्यसका लागि उनलाई जरुरी भयो- सम्पर्क कार्यालय। मदनले जुन घरलाई सुरक्षित ठानेर चुनावी गतिविधि गरेका थिए, त्यही घरलाई विद्याले पनि रोजिन्।
त्यो थियो- काठमाडौँको मध्यबानेश्वरस्थित विदुर मैनालीको घर। मैनाली एमालेकै शुभचिन्तक थिए। उनको घरमा विद्याले पनि आफ्नो चुनावी प्रचारका लागि सम्पर्क कार्यालय स्थापना गरिन्।
घरधनी मैनाली सुनाउँछन्, ‘मदन कमरेडको चुनावी प्रचार पनि यही घरबाट गरिएको थियो। पछि विद्या कमरेडले पनि यही घरलाई सम्पर्क कार्यालय बनाउनुभयो।’
बागमती प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका एमाले नेता डोरमणि पौडेल पनि मैनालीको घरबाटै २०४८ र ५० सालमा चुनाव प्रचारप्रसार गरिएको स्मरण गर्छन्। ‘मदन कमरेड र विद्या कमरेडको चुनावी प्रचारका लागि सम्पर्क कार्यालय त्यही घरमा बनाइएको थियो’, उनले नेपालखबरसँग भने।
मदनपछि विद्याले पनि शानदार मतका साथ चुनाव जितिन्।
उनले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई २ हजार मतान्तरले हराइन्। विद्याले ४३ हजार मत ल्याउँदा पराजित भट्टराईले ४१ हजार भोट पाएका थिए।
दुवैले लगालग चुनाव जितेपछि मैनालीको घर ‘फापेको’ चर्चा तत्कालीन एमाले वृत्तमा चल्यो।
नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारले २०५१ कात्तिकमै मध्यावधि निर्वाचन घोषणा गर्यो।
एक वर्ष नपुग्दै फेरि चुनाव लड्नुपर्ने भएपछि विद्या निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौँ क्षेत्र नम्बर २ बाट उठिन् र जितिन्।
त्यसपछि नेपालको राजनीतिमा निकै फेरबदल आयो।
१० वर्षे जनयुद्धको जगमा भएको जनआन्दोलनले २४० वर्षदेखि राजतन्त्र फाल्दै मुलुकमा गणतन्त्र स्थापना गर्यो। यही व्यवस्थाले विद्या भण्डारीलाई देशकै पहिलो महिला राष्ट्रपति मात्र होइन, लगातार दुईकार्यकाल राष्ट्रपति बन्ने अवसर दिलायो।
३२ वर्षपछि फेरि पुरानै घरमा
शीतल निवासबाट निजी निवास फर्केपछि विद्या भण्डारीले पुन: एमालेकै सक्रिय राजनीतिमा फर्केको घोषणा गरिन्। राष्ट्रपति बन्नुअघि एमालेमा उपाध्यक्ष रहेकी उनले अब पार्टीको नेतृत्व नै गर्ने भनेपछि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र उनी पक्षधरलाई मन परेन।
यसपछि रातारात पार्टीका बैठकहरू राखेर ओलीले भण्डारीले नवीकरण गरिसकेको पार्टी सदस्यता नै खारेज गरिदिए। यसरी एमाले प्रवेश गर्ने ढोका नै बन्द गरिएपछि विद्या ३२ वर्षपछि त्यही पुरानो घरमा सम्पर्क कार्यालय खोल्दै फर्किएकी छन्।
यद्यपि त्यो घर अहिले त्यही रूपमा भने छैन। २०५४ सालमा एमालेबाट काठमाडौँ महानगरपालिकाको उपमेयरसमेत बनेका मैनालीले घरलाई विस्तार गरेर चारतले भव्य भवन बनाएका छन्। अहिले त्यहाँ कम्तीमा ५ गाडी र २० मोटरसाइकल पार्किङ गर्न सकिन्छ भने सुविधाजनक १४ वटा कोठा छन्।
‘चारदिन भयो यो घरमा कार्यालय राख्ने भनेर निर्णय भएको,’ घरको रेखदेखमा खटिएका एक नेताले नेपालखबरसँग भने, ‘अब केही दिनमा सरसफाइ सकेर सामान तयार पारिसक्छौँ।’

मदन भण्डारी फाउन्डेसनले ७५औँ हिरक जयन्ती मनाउन मनाउँदै छ। यसैका लागि फाउन्डेसनले ७५औँ जन्म जयन्ती मनाउन मूल समारोह समिति गठन गरेको छ। यही समितिले थापागाउँमा रहेको मैनालीको त्यो घरलाई भाडामा लिएर कार्यालय खोलेको समितिका संयोजक पौडेल बताउँछन्।
‘अब त्यही घरबाट केन्द्रीय तहमा दुईचारवटा कार्यक्रम हुन्छन्, ‘बाँकी जिल्लामा सम्पर्क गर्ने काम त्यो कार्यालयले गर्छ,’ मूल समारोह समिति संयोजक पौडेल भन्छन्।
त्यही घरलाई विद्याले आफ्ना राजनीतिक गतिविधि सञ्चालनका लागि प्रयोगमा ल्याउने भएकी हुन्।

यसअघि उक्त घर झन्डै १० वर्षजति निजी क्षेत्रका मानिसले भाडामा लिएका थिए। अहिले भने खाली भएको हो।
यही अवसरमा मदन भण्डारी फाउन्डेसनले आफ्नो पुरानो साइनो जोडिएको स्थान फेरि प्रयोग गर्न लागेको हो।
भण्डारीनिकट एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा त्यही घरबाट विद्याले फेरि नयाँ राजनीति कार्यक्रम अघि बढाउने बताउँछन्।
‘मदनको इलेक्सन क्याम्पियन सुरु भएको घर हो त्यो, मदनको हत्यापछि विद्याजीको पालामा पनि त्यहीँबाट चुनावी गतिविधी भए। त्यो एरियाका सबै गतिविधिको केन्द्र त्यही थियो। यो घर ऐतिहासिक घर हो’, त्यो बेलाका मतदातासमेत रहेका थापा सुनाउँछन्, ‘त्यो बेलामा काठमाडौँको चुनावमा अस्थायी मतदाता नामावलीमा नाम दर्ता गर्न पाइन्थ्यो।’
त्यतिबेला काठमाडौँको नेपाल ल क्याम्पसको स्ववियु सभापति भएकाले आफूले पनि मतदाता सूचीमा नाम लेखाउँदै २०५० को चुनावमा विद्यालाई मत दिएको उनी बताउँछन्।
‘काठमाडौँको एक नम्बर क्षेत्रको चुनाव त देशैभरको चुनाव हो। सारा देशभरका मान्छेले आयोगले दिएको समयमा नाम लेखाएका थिए’, थापाले थपे, ‘काठमाडौँ वरिपरिका जिल्लाबाट आएर नाम लेखाएकाले त्यसबेला मत दिए। यो चुनाव भनेको देशैभरको चुनाव हो।’
अब भने फाउन्डेसनका लागि कार्यालय लिए पनि त्यहीँबाट एमालेका राजनीतिक गतिविधि पनि सञ्चालन गरिने थापाले बताए।
निर्वाचन क्षेत्र नम्बर १ तथा राजधानीको मध्यभागमै रहेको त्यो घरलाई सम्पर्क कार्यालयका रूपमा विद्याले रणनीतिक योजनाका रूपमा लिएकी छन्।
‘यो उहाँ (विद्या भण्डारी) कै लागि सम्पर्क कार्यालय पनि हो, देशभरिका नेता-कार्यकर्ताले अब यहीँ आएर भेट गर्न सक्छन्’, उनले भने।
भदौदेखि त्यही सम्पर्क कार्यालयबाट राजनीतिक गतिविधि तीव्र बनाउने योजना विद्याले बनाएकी छन्।
नेताहरूका अनुसार भदौमै हुने एमालेको विधान महाधिवेशनअघि केही प्रदेश र जिल्ला पुग्ने तयारी भण्डारीले गरेकी छन्।

अब यही घरबाट हुनेछ शंखघोष: थापा
एमाले स्थायी कमिटी सदस्य थापाका शब्दमा विद्याले अब त्यही घरबाट एमाले राजनीतिको ‘शंखघोष’ गर्ने छिन्।
‘त्यो एतिहासिक ठाउँ हो। मदनसँग भावना जोडिएको र जनताको बहुदलीय जनवादको मूल मर्म पनि त्यो घरमा जोडिएको छ। अहिले संरक्षण गर्न खोजिएको भनेको मदनको व्यक्तित्व र विचार हो। यसको पनि रक्षा गर्न खोजेको हो हामीले। भनेपछि विद्याको हिजोको कठिन दिनसँग जोडिएको। उहाँ हिजो पनि जनताको बलमा लडेको’, थापाले भने, ’केपी ओलीले त उहाँको सदस्यता खाइदिए, भनेपछि सत्यको शंखघोष गर्ने ठाउँका रूपमा त्यसलाई चित्रण गर्न लागिएको हो। आज आफूमाथि अन्याय भयो भनेर उहाँ लाग्नुभएको छ।’

Shares

प्रतिक्रिया