प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको शान्ति सुरक्षामा खटिएका नेपाल प्रहरीलाई शासक नभई जनताको सेवक भएर काम गर्न निर्देशन दिएका छन्। आज जनकपुरधाममा मधेस प्रदेश प्रहरी कार्यालयको नवर्निमित भवनको उद्घाटनपश्चात आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो निर्देशन दिएका हुन्।
मुलुकमा सुशासन तथा शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल प्रहरी हाकिमको भूमिका होइन, जनताको सेवकको भूमिकामा काम गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो।
'त्यस समयमा शासनसत्ता जोगाउनका लागि झुटो आरोप लगाउने कार्य हुन्थ्यो। अहिले मुलुकमा केही तत्वहरूले अराजक फैलाउने कार्य गरिरहेको तथा आफूलाई नयाँ शक्तिको भ्रम फैलाउने गरिरहेका छन्। देशमा अराजक गतिविधिको काम गरेकाले त्यसबाट सतर्क एवं सजग हुनुपर्छ,' ओलीले भने।
समाजमा अराजक फैलाउने तत्वहरूको मुलुकमा लोकतन्त्र ल्याउनका लागि कुनै योगदान नरहेको ओलीको भनाइ थियो।
उनले जनताको ठूलो त्याग, तपस्या तथा बलिदानीबाट मुलुकमा लोकतन्त्र आएकाले लोकतन्त्रको सुरक्षा तथा दिगो बनाउन सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू लाग्नुपर्ने बताए।
'नेपाली सेनाले राष्ट्रको सुरक्षा गर्ने काम गरिरहेको छ, त्यस्तै नेपाल प्रहरीले आफ्नो योग्यता तथा दक्षताको माध्यमबाट इमान्दारीपूर्वक जनताको सुरक्षा तथा सेवा गर्नुपर्छ,' उनले भने।
Shares

प्रतिक्रिया