राजनीति


युवा दिवसमा प्रचण्डले सम्झिए आफ्नो युवावस्था

युवा दिवसमा प्रचण्डले सम्झिए आफ्नो युवावस्था

नेपालखबर
साउन २७, २०८२ मंगलबार १०:३२, काठमाडौँ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवावस्थामै आफूले युवा संघको अध्यक्ष हुँदै पार्टीको सर्वोच्च नेतृत्व गर्ने अवसर प्राप्त गरेको बताएका छन्। 

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रचण्डले ऐतिहासिक जनयुद्धको नेतृत्व पनि आफूले युवा अवस्थामै गरेको स्मरण गरेका छन्। 

‘मलाई स्वयं आफ्नो युवावस्थामा युवा सङ्घको अध्यक्ष हुँदै पार्टीको सर्वोच्च नेतृत्व गर्ने अवसर प्राप्त भयो,’ प्रचण्डले सन्देशमा भनेका छन्, ‘ऐतिहासिक जनयुद्धको नेतृत्व गर्दै, हजारौँ युवाको रगत, पसिना र बलिदानीपूर्ण संघर्षको बलमा सामन्तवादको समूल अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न सफल भयौँ। हामीले अगुवाई गरेको बलिदानीपूर्ण संघर्षले मात्र राजनीतिक व्यवस्थामा परिवर्तन ल्याएन, उत्पीडित समुदायका अधिकार सुनिश्चित गर्ने ऐतिहासिक उपलब्धिहरू पनि दिलायो।’

उनले माओवादी मात्रै सबै अङ्गमा ४० प्रतिशतभन्दा बढी युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने पार्टी भएको पनि दाबी गरेका छन्। 

‘गर्वका साथ भन्न चाहन्छु- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)नै नेपालको एक मात्र यस्तो पार्टी हो, जसले पार्टीका सबै अङ्गमा ४० प्रतिशतभन्दा बढी युवाको प्रतिनिधित्व सुनिश्चित गरेको छ,’ प्रचण्डले भनेका छन्, ‘यसले युवालाई केवल भविष्यको नेतृत्वको रूपमा होइन, वर्तमानकै निर्णायक शक्ति र परिवर्तनको अग्रदस्ताका रूपमा स्वीकार गरेको छ।’ 

युवालाई केवल भविष्यको नेतृत्वको रूपमा होइन, वर्तमानकै निर्णायक शक्ति र परिवर्तनको अग्रदस्ताका रूपमा स्वीकार गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

माओवादी नेतृत्वको सरकारले युवालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सबल बनाउन विशेष प्राथमिकता दिएको भन्दै उनले त्यही क्रममा, युवालाई स्वरोजगारका अवसर सिर्जना गर्न, उद्यमशीलतालाई प्रोत्साहन गर्न र नवप्रवर्तनलाई संस्थागत रूप दिन महत्त्वपूर्ण पहलहरू सुरु गरिएको पनि बताएका छन्। 

‘युवा स्वरोजगार कोषको स्थापना गरेर हजारौँ युवालाई कृषि, उत्पादन र सेवा क्षेत्रमा रोजगारीको अवसर प्रदान गरियो।  राष्ट्रिय युवा परिषद् गठन गरेर युवाको हक, अधिकार र सहभागितालाई नीतिगत तथा संस्थागत स्वरूप दिइयो। युवा उद्यमशीलता कार्यक्रम सञ्चालन गरेर सीप, तालिम र लगानी पहुँचमार्फत नयाँ पुस्तालाई व्यवसाय सुरु गर्न प्रोत्साहन गरियो,’ प्रचण्डले भनेका छन्। 

नवप्रवर्तन गर्ने युवालाई सहयोग गर्न स्टार्टअप प्रोत्साहन अभियान अघि बढाएको पनि उनले उल्लेख गरेका छन्।

‘जसले उनीहरूलाई आर्थिक सहायता मात्र होइन, बजारसम्मको पहुँच पनि उपलब्ध गरायो। त्यस्तै, वैदेशिक रोजगारी वा अन्य क्षेत्रमा अनुभव आर्जन गरेका युवालाई स्वदेशमै व्यवसाय सुरु गर्न प्रेरित गर्न रिटर्नी उद्यमी कार्यक्रम अघि सारियो, यद्यपि बिडम्बना, म पछिका सरकारले त्यसलाई निरन्तरता दिएन,’ प्रचण्डको आरोप छ, ‘यी सबै कार्यक्रम र योजनाहरू केवल कागजी घोषणामा सीमित भएनन्, बरु हजारौँ युवाको जीवनमा वास्तविक परिवर्तन ल्याउने अभ्यासको रूपमा समेत विकसित भए।’

उनले युवामा ऊर्जाशीलता, सिर्जनशीलता, वैज्ञानिक सोच र परिवर्तनको आकांक्षा नै समृद्ध र समाजवादी नेपाल निर्माणको आधार भएकोमा पनि जोड दिएका छन्। 

‘आफ्नो सीप, ऊर्जा र विचारलाई जनताका पक्षमा, राष्ट्रको समृद्धि र समाजको रूपान्तरणका लागि लगाऔँ। युवालाई राष्ट्र निर्माणको अग्रपंक्तिमा उभ्याऔँ र परिवर्तनको यात्रालाई अझ सबल बनाऔँ,’ प्रचण्डले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad