समाज


गुपचुप गाडिएका दिदीभाइको शव प्रहरीले २ दिनपछि खाडलबाट निकाल्यो

गुपचुप गाडिएका दिदीभाइको शव प्रहरीले २ दिनपछि खाडलबाट निकाल्यो

नेपालखबर
साउन २७, २०८२ मंगलबार ११:९, काठमाडौँ

मृत्युपछि आफन्तले खाडलमा गाडेका दुई बालबालिकाको शव खोटाङ प्रहरीले खाडलबाट निकालेर पोस्टमार्टमका लागि अस्पताल लगेको छ। 

यही साउन २२ गते राति स्थानीय जंगलमा मृत भेटिएका दिप्रुङ चुइचुम्मा गाउँपालिका-३ निवासी गोविन्द बस्नेतकी ११ वर्षीय छोरी मेनिषा
र ६ वर्षीय छोरा मेगराजको शव आफन्तले प्रहरीलाई जानकारी नै नगराइ खाडलमा गाडेका थिए। 

‘दुई दिनपछि उक्त शव खाडलबाट निकालेर हामीले पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाएका छौँ,’ प्रहरी निरीक्षक सुशन मिश्रले नेपालखबरसँग भने, ‘ती बालबालिका भिरबाट लडेर मरेका भनिएको छ,’ मिश्रले भने, ‘तर, प्रहरीलाई कुनै जानकारी नदिइ शवको सद्गद् गरेको पाइएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।’

साउन २३ गते गाडिएका बालबालिकाको शवलाई प्रहरीले साउन २५ गते साँझ निकालेको हो। 

कानुनी प्रक्रिया पूरा नगरी सामसुम पारेर गाडेकाे पाइएपछि चिहानलाई खोतलेर शव निकालेको इन्सपेक्टर मिश्रले जानकारी दिए। 
‘घटनाको विषयमा हामीले थप अनुसन्धान अघि बढाएका छौँ,’ मिश्रले भने। 

मृत भेटिएका दिदीभाइसहित गाउँका ६ जना बालबालिका यही साउन २१ गते हराएका थिए। खोजी गर्ने क्रममा दुई बालबालिकाको शव २२ गते भेटिएको थियाे। 

मृत भेटिएका बालबालिकासँगै गोविन्दकै कान्छी छोरी र छिमेकीका तीन छोरी पनि हराएका थिए। उनीहरू भने सकुशल घर फर्किएका छन्।

श्रीमतीले अर्कै विवाह गरेपछि दुई छोरी र एक छोराको नवराजले लालनपालन गर्दै आएका छन्। साउन २१ गते स्कुल नगइ घरबाट घुम्न हिँडेका उनीहरू साप्सुखोला तरेर थ्री स्टार हाइड्रोपावरसम्म पुगेर फर्किएको पाइएको छ। 

घर फर्किंदा बाटो बिराउँदा उनीहरू भिरबाट खसेका अनुमान छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad