राजनीति


नारायणकाजी र उपेन्द्रबीच हात्तीवनमा भेटवार्ता

उपेन्द्र यादव भन्छन्- राजनीतिक विषयमा कुनै कुरा भएन
नारायणकाजी र उपेन्द्रबीच हात्तीवनमा भेटवार्ता

नेपालखबर
साउन २६, २०८२ सोमबार ११:३९, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच आज भेटवार्ता भएको छ। 

ललितपुरको हात्तीवनस्थित श्रेष्ठ निवासमा सोमबार बिहान दुई नेताबीच छलफल भएको हो।

पूर्व उपप्रधानमन्त्री द्वयबीचको छलफलमा वर्तमान राजनीतिक परिस्थितिको गम्भीर समीक्षा भएको श्रेष्ठको सचिवालयले जनाएको छ। 

‘उक्त भेटमा वर्तमान राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणमा संघर्षरत शक्तिहरूको भूमिकाबारे विस्तृत छलफल भएको छ,’ दुई नेताबीचको भेटपछि श्रेष्ठको सचिवालयले भनेको छ, ‘यथास्थितिको अन्त्य, लोकतान्त्रिक उपलब्धिहरूको रक्षा तथा समृद्ध नेपाल निर्माण गर्दै समाजवादको दिशातर्फ अघि बढ्न आवश्यक कदमबारे विचार विमर्श भएको छ।’

उनीहरुबीचको छलफलमा संघर्षशील शक्तिहरूले अहिलेको परिस्थितिलाई सम्बोधन गर्दै सकारात्मक निकासका लागि नयाँ पहल र कदम चाल्नुपर्ने आवश्यकतामाथि पनि छलफल भएको छ। 

आआफ्ना कमजोरीका सम्बन्धमा आत्मालोचना गर्दै एकताबद्ध भूमिकामा कसरी अघि बढ्ने भन्ने विषयमा पनि भेटवार्तामा कुराकानी भएको बताइएको छ। 

तर, यादवले भने श्रेष्ठसँग भएको भेटमा राजनीतिक विषयमा कुनै छलफल नभएको दाबी गरेका छन्। ‘उहाँ मेरो छिमेकी हो। म पनि हात्तीवनमै बस्छु। हामीबीच सामान्य भेटघाट मात्रै भएको हो,’ यादवले नेपालखबरसँग भने, ‘हामीबीच कुनै राजनीतिक छलफल भएको छैन।’

यसअघि श्रेष्ठले नेकपा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’, नेकपा (कीकृत समाजवादी) का महासचिव घनश्याम भुषाल र वरिष्ठ नेता झलनाथ खनालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad