राजनीति


ऐनामा अनुहार हेर्न माधवलाई झलनाथको सुझावः जबजको हेडक्वाटरै एमालेमा छ, आफैँ जानू (भिडिओ)

ऐनामा अनुहार हेर्न माधवलाई झलनाथको सुझावः जबजको हेडक्वाटरै एमालेमा छ, आफैँ जानू (भिडिओ)

नेपालखबर
साउन २३, २०८२ शुक्रबार २०:२९, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधव नेपाललाई आफ्नो अनुहार ‘ऐनामा हेर्न’ सुझाव दिएका छन्। 

अध्यक्ष नेपालले वरिष्ठ नेता खनाललाई ‘एमालेमै फर्केर ओलीको सेवा गरे हुन्छ’ भनेपछि खनालको यस्तो प्रतिक्रिया आएको हो।

नेता खनालले जनताको बहुदलीय जनवाद (जबज) मान्ने सबैभन्दा ठूलो शक्ति एमाले नै भएको र अध्यक्ष नेपालले पनि जबज छोड्न सकिँदैन भनेको सन्दर्भमा आफैं एमालेमा फर्किन उचित हुने सल्लाह पनि दिएका छन्।

उनले एमालेबाट विद्रोह गरेको ४ वर्षसम्म पनि विद्रोह पुष्टि हुन नसकेको दोहोर्‍याए।

भिडिओ:

खनालले भने, ‘विद्रोह पुष्टि भएन भनेर मैले भन्दा नेकपा (एमाले) मै गएर बस्नु भन्नुभन्दा मैले माधव कमरेडलाई बडा हार्दिक के सल्लाह दिन चाहन्छु भने हामीले विद्रोह गरेको चार वर्ष भइसक्यो। महाधिवेशन भएको १३ महिना भइसक्यो। यस्तो अवधिमा समेत न वैज्ञानिक समाजवादको कार्यक्रम प्रकाशित भएको छ, न विद्रोहको पुष्टि गर्ने कुरामा कुनै गहन ढंगले कदम चालिएको छ। बरु माधव कमरेडले पटक पटक भन्नुहुन्छ– बहुदलीय जनवाद छोड्न सकिँदैन। बहुदलीय जनवाद बिना त हामी अगाडि बढ्नै सक्दैनौँ। यो भनेको त सबभन्दा राम्रो लोकतन्त्र हो। त्यसकारण हामी एकदलीय जनवादतिर त जानै सक्दैनौँ भनेर भन्ने गर्नुभएको छ। अहिले बहुदलीय जनवादको मुख्य गढ भनेकै नेकपा एमाले नै हो नि। बहुदलीय जनवाद नै भन्नुहुन्छ भनेपनि यो त सानो बहुदलीय जनवाद हो। यो भन्दा यत्रो ठूलो हेडक्वाटरै जत्रो बहुदलीय जनवाद छ। अनि माधव कमरेड बरु आफैँ उतै गए राम्रो हुँदैन र?’

अध्यक्ष नेपालले शुक्रबार आयोजित एक कार्यक्रममा सम्मानित नेता खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीको सेवा गरेर बस्न सल्लाह दिएका थिए। विद्रोह गरेर नयाँ पार्टी बनाइसकेपछि विद्रोहको औचित्य नरहने भन्न नमिल्ने उनको जिकिर छ।

उनले पार्टीको हित र पक्षमा मात्रै प्रचारप्रसार गर्न र सञ्चारमाध्यममा अभिव्यक्ति दिन पनि निर्देशन दिएका थिए भने संविधान मिचेर संसद् विघटन गरिएपछि आफूहरूले एमालेबाट विद्रोह गरेर नयाँ दल बनाएको स्मरण पनि गरे।

नेपालले भनेका थिए, ‘मिडियामा जाने पार्टीको विरोध गर्ने, मिडियामा जाने विद्रोहको औचित्य छैन भन्ने। किन आउनुपर्‍यो? विद्रोह ठिक लागेन भने केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि। हामीले ठिक गरेका छौँ। दृढतताका साथ पहल गरेका छौँ।’

सम्मनित नेता खनालले आफूलाई एमालेमा गएहुन्थ्यो भन्नुभन्दा आफ्नो अनुहार ऐनामा हेर्न र बरु आफैं एमालेमा फर्किए हुन्थ्यो भनेर सोच्न सल्लाह दिए।  

खनालले भने, ‘उहाँ (माधव नेपाल)ले त विचार गरे हुन्थ्यो नि त। मलाई (विद्रोह) पुष्टि भएन भन्नेबित्तिकै मलाई एमालेमा गएहुन्छ भन्नुभन्दा उहाँले एकपटक ऐनामा अनुहार हेरेर यो कुरामा वास्तवमा मैले नै एमालेतिर फर्किए हुन्थ्यो भनेर सोचे राम्रो हुँदैन र?’

नेता खनालले कम्तिमा १० १५ दिनको केन्द्रीय कमिटिको बैठक राख्न र त्यहीँ विवादलाई माझामाझ गर्न पनि अध्यक्ष नेपाललाई सुझाव दिए। उनले बाहिर मिडियामा विवाद गर्नभन्दा पार्टीको बैठकमै सबै वैचारिक विषयमा छलफल गर्नुपर्ने बताए।

जनताको बहुदलीय जनवाद वा वैज्ञानिक समाजवाद जस्ता विषयमा आफू स्पष्ट हुन र कार्यकर्तालाई प्रशिक्षित गर्नुपर्ने उनको भनाई छ। 

नेता खनालले भने, ‘अहिले जे ढंगले मिडियामा विवाद गर्न खोजिएको छ नि, त्यो भन्दा राम्रो पार्टी केन्द्रीय कमिटिको बैठक बोलाएर, त्यो बैठकलाई बरु ८/१० दिन, १५ दिनको आयोजना गरेर गहन ढंगले छलफल गरेर के हो, बहुदलीय जनवाद? के हो वैज्ञानिक समाजवाद? लोकतन्त्र भनेकै के हो? यो धर्तीमा लोकतन्त्र कसरी उत्पत्ति भयो? नेपालमै लोकतन्त्र उत्पत्ति कसरी भयो? कसरी विकास गर्दै आयो? हामी कुन लोकतन्त्रको चरणमा आयौँ? अब हामीले चाहेको लोकतन्त्र समाजवादी लोकतन्त्र कुरी प्राप्त गन्छि? समाजवाद भनेको त समाजवादी लोकतन्त्र हो। त्यहाँ कसरी पुगिन्छ? यी कुराको बारेमा गहन ढंगले छलफल भयो भने त हाम्रो कार्यकर्ता धेरै प्रशिक्षत हुन्छन् नि। अर्को ठाउँमा प्रशिक्षणको आयोजना गर्नै पर्दैन। केन्द्रीय कमिटिको बैठकमै सबै कार्यकर्ताहरू प्रशिक्षित हुन्छन्। हो त्यो चाहिँ गरे राम्रो हुन्थ्यो नि त।’

उनले थपे, ‘केन्द्रीय कमिटिको बैठक नै सर्वोच्च बैठक हो। दुईवटा महाधिवेशनबीचको सर्वोच्च संस्था पनि हो। त्यो केन्द्रीय कमिटिमा हामीले मन माझामाझ गर्यौं भने त यो पार्टी चम्किन पो थाल्छ त।’

खनालले पार्टीको सचिवालयमा माधव नेपालमाथि पतञ्जलि प्रकरणमा भ्रष्टाचार मुद्दा लागिसकेकाले पदबाट राजीनामा दिनुपर्ने भन्दै एउटा दस्तावेज पनि प्रस्तुत गरिसकेका छन्।   

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad