राजनीति


कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ: नेपालले चीनलाई दियो ७० किलोको बुद्धमूर्ति उपहार

कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ: नेपालले चीनलाई दियो ७० किलोको बुद्धमूर्ति उपहार

नेपालखबर
साउन १६, २०८२ शुक्रबार १४:३९, काठमाडौँ

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसरमा नेपालले चीनलाई ७० किलोको बुद्धमूर्ति उपहार दिएको छ।

युनान प्रान्तको कुनमिङमा शुक्रबार आयोजित एक विशेष समारोहमा नेपाल-चीन कार्यकारी परिषद् (एनसीईसी)ले युनान बौद्ध संघलाई सुनको जलप लगाइएको बुद्धमूर्ति हस्तान्तरण गरेको हो।

समारोहलाई सम्बोधन गर्दै एनसीईसीका अध्यक्ष अनुप भट्टराईले भने, ‘कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवको यो खुसीको अवसरमा कुनमिङको युआनतोङ मन्दिरमा भगवान बुद्धको ७० किलोको सुनको जलप लगाएको मूर्ति प्रस्तुत गर्न पाउँदा खुसी छौँ।’

एनसीईसीका अनुसार, नेपाली कारिगरहरूले लगभग आठ महिना लगाएर यो मूर्ति निर्माण गरेका थिए।

भट्टराईले थप भने, ‘बौद्ध धर्म नेपाल र चीनबीचको साझा आध्यात्मिक सम्पदा मात्र होइन, पारस्परिक सम्मान, क्षेत्रीय सद्भाव र शान्तिपूर्ण सहअस्तित्वको दृष्टिकोणलाई बढावा दिने सांस्कृतिक कूटनीतिको स्तम्भ पनि हो।’

कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वार्षिकोत्सवको अवसरमा एनसीईसीले बेइजिङको ग्रान्ड बेल मन्दिरमा पाटन प्यालेस स्क्वायरमा रहेको ग्रान्ड बेलको ६० किलोको प्रतिकृति पनि प्रस्तुत गरेको थियो।

‘यस पवित्र उपहारले दुई राष्ट्रको पहाडहरूले एकताबद्ध बनाएको र नदीहरू साक्षी रहेको युगौँ पुरानो प्रतीज्ञालाई सम्मान गर्दछ,’ बुद्धको मूर्ति ग्रहण गर्दै युनान बौद्ध संघका अध्यक्ष मास्टर सिनमिङले भने, ‘यसको पवित्र रूपले नेपाली कारीगरहरूको धार्मिक शिल्पकलालाई मूर्त रूप दिन्छ र चीन र नेपाल बीचको गहिरो बौद्ध मित्रतालाई प्रतिविम्बित गर्दछ।’

युनान चीनको एक मात्र त्यस्तो प्रान्त हो, जहाँ हान, तिब्बती र थेरवाद बौद्ध धर्म सहअस्तित्वमा छन्।

‘भौगोलिक निकटता, जातीय नाता र बौद्ध आत्मीयताको अद्वितीय लाभकारी सम्बन्धले सम्पन्न, यो लामो समयदेखि दक्षिण र दक्षिणपूर्व एसियालाई जोड्ने बौद्ध संस्कृतिको केन्द्र र बेल्ट एन्ड रोडमा जनता-जनताको सम्बन्धको न्यानो पुल रहेको छ, सिनमिङले भने।

यस अवसरमा बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख रोशन खनालले युनान प्रान्तको सबैभन्दा भव्य र महत्त्वपूर्ण बौद्ध मन्दिरमा स्थापना गर्नाले मूर्तिको महत्तालाई अझ समृद्ध बनाएको टिप्पणी गरिन्।

नेपाली जनताबाट प्राप्त यो बहुमूल्य उपहार नेपाल-चीन मित्रताको प्रतीकको रूपमा युनानमा सधैँ उभिरहने उनको भनाइ छ।

‘युनान प्रान्त र नेपालमा धेरै समानताहरू छन्- दुवै विविध समुदायहरू, पर्यटकीय आकर्षणहरू साथै संस्कृति, खाना र परम्पराहरू बीचको एकताका नमुना हुन्। युनानसँग व्यापार, लगानी, शिक्षा, सामाजिक-सांस्कृतिक आदानप्रदान र जनता-जनता सम्बन्धमा हाम्रो व्यापक सहकार्य छ,’ उनले थपिन्।

समारोहमा युनान विदेश मामिला कार्यालयका प्रतिनिधिहरू र विभिन्न बौद्ध संघका भिक्षुहरू उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad