राजनीति


वर्षमानले भने- दोष सबै प्रचण्डको टाउकोमा हालेर हामी उम्किन पाउँदैनौँ

वर्षमानले भने- दोष सबै प्रचण्डको टाउकोमा हालेर हामी उम्किन पाउँदैनौँ

नेपालखबर
साउन १०, २०८२ शनिबार १५:३१, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले आफ्नो पार्टीको अध्यक्ष नेपाली राजनीतिको ‘ब्राण्ड भएको बताएका छन्।
 
पार्टी सम्वद्ध अखिल क्रान्तिकारीले शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले  प्रचण्डकै नेतृत्वमा जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माण भएको र समाजवादको आधार बसाउन अझै केही समय उनको नेतृत्व आवश्यक रहेको उल्लेख गरे।

‘हामी अध्यक्ष प्रचण्डको नेतृत्वमा एकताबद्ध र गोलबन्द छौँ,’ उनले भने, ‘कमरेड प्रचण्ड परिवर्तनको राजनीतिको ब्राण्ड हो, हामीले उहाँलाई ब्राण्डका रुपमा स्थापित गरेका छौं। उहाँको ब्राण्ड भ्यालु राम्रो छ।’ 

यद्यपि प्रचण्डले पनि आफलाई रुपान्तरणको प्रयत्न भने गर्नुपर्ने पुनले बताए।पटकपटक मन्त्री, सांसद् भएका र दशक अघिदेखि पार्टीको महत्वपूर्ण भूमिकामा रहेका नेताहरुले बिग्रिएको जति दोष प्रचण्डको थाप्लोमा हालेर उमिक्न नपाउने स्पष्ट गरे।

‘कमरेड प्रचण्डले पनि आफूलाई रुपान्तरणको प्रयत्न गर्नुपर्छ, उहाँले त्यो गर्नैपर्छ,’ पुनले भने, ‘ साथै हामी दोस्रो, तेस्रो तहका नेताहरू छौं। अध्यक्षको टाउकोमा सबै हालेर हामी उम्किन पाउँदैनौं। हामी पनि कोही अर्थमन्त्री, कोही गृहमन्त्री, कोही ऊर्जामन्त्री, कोही विभिन्न खालका मन्त्री भएका छौं। मन्त्री हुँदा या सांसद्‍मा हुँदा, पार्टीको उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव विभिन्न जिम्मेवारीमा छौं। पार्टीलाई राम्रो बनाउने हाम्रो पनि दायित्व हुन्छ। हामीले सरकार र संसद्‍मा हुँदा के राम्रा नराम्रा गर्‍यौं? गर्न हुने र न हुने गर्‍यौं? हामी आफूतिर पनि फर्कन तयार हुनुपर्छ।’

कमजोरी भएका ठाउँमा आत्मालोचना गरेर आफूलाई सच्याउनुपर्ने भन्दै उनले सापेक्षित रुपमा नेपालका अन्य दलको तुलनामा माओवादी केन्द्रका नेताहरू अरुभन्दा असल र मुलुकको हितप्रति इमान्दार रहेको दाबी गरे। 

दोस्रो तहका नेताहरुले पहिलो र पछिल्ल्लो पुस्ताबीच समन्यव र सन्तुलन मिलाएर पार्टीलाई गतिशिल बनाउने भूमिका खेल्नुपर्ने पुनको भनाइ छ।

‘अनुभवी र परिपक्व पहिलो पुस्ता र जोश जाँगर भएको तेस्रो पुस्तालाई मिलाउँदा पार्टी संगठन गतिशिल हुन्छ। हामी दोस्रो पुस्ताका नेताहरुले अहिले त्यही भूमिका खेल्नुपर्छ। एकांकी रुमपा पुरानो ज्ञानले मात्र आजको दुनियाँ चल्दैन। नयाँ र पुराना पुस्ताले मात्र पनि चल्दैन। सबैतिर भत्काउँछु, सबै खत्तम, यो खत्तम, ऊ खत्तम म मात्र सही भनेर जता पनि ठोक्ने, जता पति गडगडाउने गरेर हुँदैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad