राजनीति


चाक्सीबारीमा कांग्रेसका ७ नेताको निष्कर्ष: देउवाले हामीसँग सल्लाह गर्नुपर्छ

चाक्सीबारीमा कांग्रेसका ७ नेताको निष्कर्ष:  देउवाले हामीसँग सल्लाह गर्नुपर्छ

नेपालखबर
साउन ५, २०८२ सोमबार १७:५२, काठमाडौँ

नेपाली कांग्रेसका ७ जना पूर्वपदाधिकारीले सभापति शेरबहादुर देउवाले सरसल्लाह नगरेको भन्दै गुनासो गरेका छन्। सोमबार उपप्रधानमन्त्रीसमेत रहेका प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भेला भएका ७ नेताले पार्टी र सरकारसँग जोडिएका गम्भीर विषयमा सभापतिले छलफल गर्नुपर्ने निष्कर्ष निकालेको हो।  

नेपाली कांग्रेस-नेकपा एमालेबीच सात बुँदे सहमतिपछि बनेको सरकारले संविधान संशोधनसहितका एजेन्डा अघि बढाउन नसकेको भन्दै सभापति र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटेर कुरा गर्ने निष्कर्ष आजको बैठकले निकालेको 

'सरकारप्रति जनताको गुनासो बढि हुन थाल्यो। कांग्रेसकै मन्त्रीहरूलाई पनि जोडेर बाहिर विभिन्न आरोपहरू लाग्न थाल्यो। यस विषयमा सभापतिजीले पनि हामीसँग सरसल्लाह गर्नुपर्‍यो भन्ने आजको छलफलको निष्कर्ष भयो,' छलफलपछि एक नेताले नेपालखबरसँग भने।

सभापति देउवालाई मंगलबार भेटेरै ध्यानाकर्षण गराउने निष्कर्ष पनि आजको छलफलले निकालेको बताइएको छ। 

सरकारका कामकारबाही प्रभावकारी नभएको र गुनासो बढेको विषयमा प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने ती नेताको भनाइ छ। 

'हामी त सरकार ढाल्न छलफलमा बसेका होइनौँ नि। यो गठबन्धन नै ०८४ को चुनावसम्मै चलोस् भन्नेमै छौँ नि हामी,' उनले थप भने, 'तर यसरी हुँदैन भन्ने निष्कर्ष आज निकालिएको छ।' 

छलफलमा सहभागी नेता कृष्णप्रसाद सिटौलाका अनुसार कांग्रेसको तर्फबाट सरकारमा नेतृत्व गरिरहेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्रीसँग छलफलको निष्कर्षको विषयमा ध्यानाकर्षण गराउनेछन्।  

'आज देशको समसामयिक विषयमा छलफल भयो। त्यसमा भर्खरै पार्टीले गरेको निर्णयका सम्बन्धमा पनि छलफल भयो। सरकारले प्रभावकारी ढंगले काम गरोस् भन्ने हाम्रो चाहना हो,' उनले भने, 'कांग्रेसबाट सरकारमा नेतृत्व गर्नुभएको उपप्रधानमन्त्रीले प्रधानमन्त्रीसँग कुरा गर्नुहुन्छ।'

सिटौलाको आजको छलफल समसामयिक विषय केन्द्रित भएको बताए। दिउँसो २ बजेका लागि भनेर डाकिएको छलफल सवा ३ बजेमात्रै सुरु भएको थियो। छलफलमा प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजय गच्छदार, डा शशांक कोइराला, गोपालमान श्रेष्ठ र प्रकाशशरण महत सहभागी छन्।  

यी नेताहरूले पार्टीको १५औं महाधिवेशन केन्द्रित छलफल चलाइरहेका छन्। उनीहरूले आलोपालो नेताको घरमा गएर छलफल गर्ने गरेका छन्।  

हाल छलफलमा जुटिरहेका नेताहरू सबै सभापति शेरबहादु देउवाकै समूहमा छन्। पार्टीको विधानअनुसार तेस्रोपटक सभापति लड्न नपाउने भएपछि शेरबहादुर देउवाले आफ्नो टिमबाट कसलाई अघि सार्छन् भन्ने विषयलाई चासोका साथ हेरिएको छ।  

यसबारे देउवा मौन बसेपछि गत फागुन २ गते आज छलफलमा जुटेकासहित ११ जना नेताले उनकै निवास बूढानीलकण्ठ पुगेर सभापतिको उम्मेदवार तोक्न आग्रह गरेका थिए। 

त्यसयता छलफलमा जुटेका नेताहरू निरन्तर छलफलमा जुट्ने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad