मुकुन्दश्याम गिरीलाई केन्द्रीय उपाध्यक्ष पदबाट हटाएका विषयमा बेवास्ता गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सुर्खेत जिल्ला कार्यालयमा पार्टीकै राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले सोमबार ताला लगाइदिएको छ।
राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले कर्णाली प्रदेशका नेता तथा आफ्ना अभिभावक गिरीलाई उपाध्यक्ष पदबाट बर्खास्त गरेको विषयमा ध्यानाकर्षण गराउँदा अहिलेसम्म कुनै कदम नचालेकाले पार्टीको जिल्ला कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन, सुर्खेतले जनाएको छ।
संगठनले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले कर्णाली प्रदेशका चर्चित नेता, हामी सबैका अभिभावक तथा नेता मुकुन्दश्याम गिरीलाई गरेको राजनीतिक अन्यायका विरुद्ध युवा संगठन (राप्रयुस) दु:ख र खेद प्रकट गर्दछौँ साथै राप्रपानिकट युवा साथीहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति सुर्खेतलाई ३ दिनसम्म साझा धारणाका लागि छलफल गरी ध्यानाकर्षण गराउँदासमेत राप्रपा जिल्ला कार्यसमिति सुर्खेतले बेवास्ता गरेकोले यसका विरुद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले राप्रपा जिल्ला कार्यसमितिको कार्यालयमा तालाबन्दी गरेको छौँ। उक्त तालाबन्दी राप्रपा सुर्खेतको आधिकारीक धारणा नआएसम्म तालाबन्दी रहिरहनेछ र उक्त तालाबन्दी सहमतिबिना खोलेमा यसबाट भइपरी आउने सम्पूर्ण समस्याको जिम्मेवारी सम्बन्धित पक्ष वा व्यक्तिले लिनुपर्नेछ।’
यसअघि महामन्त्री कुन्तिकुमारी शाहीसहित कर्णाली प्रदेशका १६ जना राप्रपा नेताले मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष पदमा फर्काउन संयुक्त पत्र लेखी अध्यक्ष राजेन्द्र लिङ्देनलाई अनुरोध गरेका थिए भने केन्द्रीय सदस्य यज्ञबहादुर सिंहले भने यसमा आफ्नो हस्ताक्षर दुरुपयोग गरिएको भनी आपत्ति जनाएका थिए।
Shares

प्रतिक्रिया