उपाध्यक्ष पदबाट बर्खास्त मुकुन्दश्याम गिरीलाई पुनर्बहाली गर्न माग गरी महामन्त्री कुन्तिकुमारी शाहीको नेतृत्वमा जारी संयुक्त अपिलमा आफ्नो हस्ताक्षर दुरुपयोग गरिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केन्द्रीय सदस्य यज्ञबहादुर सिंह (जाजरकोट) ले आपत्ति जनाएका छन्।
महामन्त्री शाही, सहायक महामन्त्री सौरेन्द्रबहादुर शाह र १२ केन्द्रीय सदस्यसहित राप्रपाका १६ नेताको हस्ताक्षरमा शनिबार जारी अपिलमा अध्यक्ष राजेन्द्र लिङ्देनसँग गिरीलाई उपाध्यक्ष पदमा फर्काउन अनुरोध गरिएको छ।
जसमा केन्द्रीय सदस्य यज्ञबहादुर सिंहको पनि हस्ताक्षर छ। तर आइतबार बिहान उनले आफ्नो हस्ताक्षर दुरुपयोग गरिएको र पार्टीभित्र पक्ष-विपक्षमा आफ्नो सहमति नभएको बताएका हुन्।
सिंहले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘म राप्रपा केन्द्रीय सदस्य यज्ञबहादुर सिंह (जाजरकोट) को हस्ताक्षर दुरुपयोग गरी मेरो सहमति र उपस्थितिबेगर पार्टीको आन्तरिक कुरामा मलाइ पक्ष-विपक्षमा राख्न गरिएको प्रयासप्रति मेरो ध्यानाकर्षण भएको छ। यस्तो गलत क्रियाकलापको म घोर भर्त्सना गर्दछु। दोषीलाई कार्बाहीको माग गर्दछु।’

Shares

प्रतिक्रिया