राजनीति


केपी ओलीलाई भीम रावलको कटाक्ष: बाल्यकाल, सुतेको र बिरामी परेको समय पनि घटाउनू

केपी ओलीलाई भीम रावलको कटाक्ष: बाल्यकाल, सुतेको र बिरामी परेको समय पनि घटाउनू

फाइल तस्बिर : केपी ओली र भीम रावल


नेपालखबर
साउन ५, २०८२ सोमबार ९:३८, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वका लागि ७० वर्षे सीमा हटाउन नहुनेमा जोड दिने नेताहरूसँग आफू जेलमा बसेको अवधि घटाउनुपर्ने तर्क गरेपछि पार्टीका पूर्वनेता भीम रावलले कटाक्ष गरेका छन्। 

हाल मातृभूमि जागरण अभियानका संयोजक रावलले त्यसो भए बाल्यकाल, सुतेको र बिरामी भएको समयावधि पनि घटाउनु के त भनी प्रधानमन्त्री ओलीलाई व्यंग्य गरेका हुन्।

एमालेबाट ६ महिनाअघि निष्कासित नेता रावलले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेस भएछ।केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनुअघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि?’

साउन १ गते सचिवालय बैठकमा तीव्र विवादपछि बहुमतबाट पास ७० वर्षे सीमा हटाउने निर्णयबारे साउन २ र ३ गते बसेको पोलिटब्युरो बैठकमा एमाले नेताहरूबीच चर्काचर्की परेको थियो। त्यस क्रममा ओलीले ७० वर्षे उमेर हद लागु गर्ने हो भने आफू जेल बसेको १४ वर्ष घटाउनुपर्ने तर्क गरेको कुरा सार्वजनिक भएको छ।

यद्यपि एमालेको पोलिटब्युरो बैठकले पनि उमेर ७० वर्ष नाघेपछि र दुई कार्यकालभन्दा बढी नेतृत्वमा बस्न नपाउने नियम हटाउने निर्णय अनुमोदन गरिसकेको छ। अब यस विषयमा आज सुरु हुने केन्द्रीय कमिटी बैठकमा छलफल हुँदै छ। 

मूलत: अध्यक्ष ओलीकै ज्यादा आलोचना गरेका कारण २०८१ पुस १० गते साधारण सदस्यसमेत नरहने गरी एमालेबाट निकालिएका रावलले त्यसयता पनि ओलीका एक-एक कुरामा टिप्पणी गर्न छाडेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad