संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको हालसम्मको प्रगति र अगामी कार्ययोजनाबारे सहरी विकास मन्त्रालयका अधिकारीसँग छलफल गर्ने भएको छ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले संसद् भवन निर्माण कार्य पुनः ढिलाइ भएपछि सहरी विकास मन्त्रालयका अधिकारीलाई साउन ११ गते अगामी कार्ययोजनासहित छलफलमा उपस्थित हुन पत्राचार गर्ने निर्णय गरेको छ।
बैठकमा बोल्ने अधिकांश सांसदहरूले संसद् भवन निर्माणको कार्य प्रगति र अगामी कार्यतालिकासहित सरकारलाई छलफलमा बोलाउन माग गरेका थिए।
समिति सभापति ठाकुर गैरेले निर्माणाधीन संसद्् भवनको पटक–पटक अनुगमन र पत्राचार गर्दा पनि काम समयमै सम्पन्न हुन नसकेको भन्दै गम्भीर असन्तोष व्यक्त गरे। उनले संसद् भवन निर्माणको काम आगामी पुस १६ गतेसम्म सम्पन्न गर्नेगरी म्याद थपेको समितिलाई प्राप्त भएको समेत जानकारी दिए।
समितिले कर्णाली प्रदेशको स्थलगत अनुगमन भ्रमण प्रतिवेदन समेत पारित गरेको छ। समितिले यसअघि कर्णली प्रदेशको दैलेख, कालिकाट, जुम्ला र मुगुको शिक्षा, स्वास्थ्य, खोनपानी लगायतको अवस्थाबारे अध्ययन गरेर प्रतिवेदन तयार गरेको थियो।
बुधबार पारित गरिएको स्थलगत अध्ययन प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री एवं सम्बन्धित मन्त्रालयमा पठाइने सभापति गैरेले जानकारी दिए। बैठकमा सांसदहरूसँग समितिको वार्शिक प्रतिवेदनका लागि सुझावसमेत मागिएको छ।
Shares

प्रतिक्रिया