राजनीति


एमाले नेता सूर्य थापा भन्छन्: मन्त्रीको राजीनामा फासफुस गर्न होइन

एमाले नेता सूर्य थापा भन्छन्: मन्त्रीको राजीनामा फासफुस गर्न होइन

फाइल तस्बिर: राजकुमार गुप्ता र सूर्य थापा


नेपालखबर
असार ३२, २०८२ बुधबार ८:४७, काठमाडौँ

सरकार नेतृत्वकर्ता दल नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताको राजीनामा अडिओ काण्ड फासफुस गराउनका लागि नभएको दाबी गरेका छन्।

७८ लाख घुस मागेको अडिओ सार्वजनिक भएपछि एमाले सांसद गुप्ताले मंगलबार (असार ३१) मात्र मन्त्री पदबाट राजीनामा दिएका हुन्।

अब यस विषयमा उनीविरुद्ध गरिनुपर्ने अनुसन्धान नहुने टिप्पणी भइरहेका बेला एमालेकै अर्का सांसद थापाले दोषीले उन्मुक्ति पाउन नहुने धारणा राखेका हुन्। 

‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिनुको अर्थ यस विषयको गम्भीरतालाई मध्यनजर गरी गम्भीर छानबिन हुनुपर्ने जनदबाबलाई स्वीकार गरिएको छ’, प्रतिनिधि सभा सदस्य थापाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस प्रकरणमा विवादास्पद अडिओको आवाजमा कोको संलग्न रहेका छन्? ती सक्कली हुन् कि नक्कली? राज्यका अनुसन्धान गर्ने निकायहरूले अविलम्ब काम थाल्नुपर्छ र सार्वजनिक अडिओमा जोसुकै बोलेको भए पनि नियन्त्रणमा लिइहालेर छानबिन गरी दुधको दुध, पानीको पानी छुट्याउनुपर्छ। दोषी ठहरिएका कसैले उन्मुक्ति पाउनुहुँदैन। झोसपोलवाला, बिचौलिया धन्धाकर्मी, भ्रष्ट र ठगहरू कोही पनि छानबिनको दायराभन्दा बाहिर रहनुहुँदैन। विषयको उठान आरोप-प्रत्यारोप र एक मन्त्रीको राजीनामा अनि फासफुस हुन/गर्नका लागि होइन, सुशासनको प्रत्याभूति गर्न हो।’

त्यसो त एमाले सांसदले घुस मागेको अडिओ सार्वजनिक भएको यो दोस्रोपटक हो।

यसअघि २०७६ सालमा एमालेकै नेता तथा तत्कालीन प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घुस मागेको अडिओ सार्वजनिक भएको थियो। 

एक स्विस कम्पनीको नेपाली एजेन्टसँग सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसन मागेको त्यो काण्ड सार्वजनिक भएपछि उनले मन्त्री पदबाट राजीनामा त दिए तर कुनै कारबाही भएन।

अहिलेको अडिओ काण्डमा गुप्ताले राजीनामा दिएपछि मंगलबार नै एमालेकै अर्का सांसद भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्ति गरिसकिएको छ।

सार्वजनिक अडिओमा तत्कालीन मन्त्री गुप्ताले २०८१ पुस अन्तिमतिर कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न ५३ लाख र एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोगको कास्की जिल्ला अध्यक्ष बनाउन भन्दै २५ लाख घुस मागेको कुराकानी छ।

गुप्ताले ५३ लाख घुस लिएको दाबी गर्दै रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ।

यसपछि चौतर्फी आलोचना र दबाब खेपिरहेका गुप्ताले आज मन्त्री पदबाट राजीनामा दिएका हुन्। राजीनामा लिएर मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका गुप्ताले प्रधानमन्त्री ओलीलाई भने भेट्न पाएनन्। ओली बालुवाटारभित्रै अन्य कार्यक्रममा व्यस्त रहेकाले फोनमार्फत जानकारी गराई उनको सचिवालयमा राजीनामा पत्र बुझाएर फर्केको एमाले नेताले गुप्ताले बताएका छन्। 

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
    ad ad