राजनीति


मन्त्रीबाट राजीनामा दिएका राजकुमार गुप्ताको दाबी: ‘प्रधानमन्त्रीले रुक्नु, रुक्नु भन्नुभो!’

‘कति तनाव सहने, बाफ रे बाफ! हार्टअट्याक होलाजस्तो भो’
मन्त्रीबाट राजीनामा दिएका राजकुमार गुप्ताको दाबी: ‘प्रधानमन्त्रीले रुक्नु, रुक्नु भन्नुभो!’

सागर न्यौपाने
असार ३१, २०८२ मंगलबार १२:१७, काठमाडौँ

घुस ‘डिल’ प्रकरणमा मुछिएका एमाले सांसद राजकुमार गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीले रोकिनु भन्दाभन्दै आफूले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पदबाट राजीनामा दिएको दाबी गरेका छन्। 

आरोप र आलोचना खेप्न नसकेर आज (असार ३१, मंगलबार) बिहान एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको सचिवालय पुगेर राजीनामा बुझाएको गुप्ताले नेपालखबरसँग बताए। 

२०८१ असार ३१ गते  मन्त्री पदमा नियुक्त गुप्ताले ठ्याक्क एक वर्ष पुगेकै दिन राजीनामा दिनुपरेको छ। जुन दिन उनले वर्षभरि आफूले गरेका काम/कारबाहीका समीक्षा सार्वजनिक गर्नुपर्ने थियो।

प्रधानमन्त्री ओलीकै हातमा राजीनामा बुझाउन भनेर बालुवाटार पुगेको तर भेट नभएपछि उनको सचिवालयमा पत्र बुझाएर हिँडेको गुप्ताले बताए। उनका अनुसार प्रधानमन्त्री ओली बालुवाटारभित्रै अर्कै कार्यक्रममा व्यस्त थिए। 

त्यसपछि उनलाई टेलिफोन गरेर राजीनामापत्र सचिवालयमा बुझाएको र त्यस क्रममा ओलीले अहिले रोकिनु, रोकिनु भनेको दाबी गुप्ताले नेपालखबरसँग गरेका छन्।  

‘प्रधानमन्त्री बालुवाटारमै अर्काे कार्यक्रममा हुनुहुन्थ्यो, त्यही भएर मैले उहाँको सचिवालयमा राजीनामा बुझाएँ। सचिवालयमा राजीनामा बुझाएर पीएम (प्रधानमन्त्री) लाई टेलिफोन गरेर जानकारी गराएँ’, उनले भने। 

अनि उहाँले के भन्नुभयो त?

जवाफमा गुप्ताले भने, ‘हैन, रुक्नु, रुक्नु भन्नुभो, मैले होइन हजुर म यति तनाव, यति पीडा सहँदैन हजुर, मैले राजीनामा बुझाएँ, गएँ।’  

तर एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईका अनुसार प्रधानमन्त्रीले निर्देशन दिएपछि गुप्ताले राजीनामा दिएका हुन्। ‘प्रधानमन्त्रीले नभनीकन कुन मन्त्रीले राजीनामा दिन्छन् र?,’ भट्टराईले भने।

२०८१ पुस अन्तिमतिर मन्त्री गुप्ताले ७८ लाख घुस मागेको र केही रकमसमेत बुझेको अडिओ केही दिनअघि मात्र सार्वजनिक भएको थियो।

कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीसँग सरुवा रोक्न ५३ लाख र एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्ष बनाउन भन्दै २५ लाख घुस मागेको अडिओ बाहिरिएको थियो। 

गुप्ताले ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरीसमेत परेको छ।

जसले गर्दा उनलाई बर्खास्त गर्न एमालेकै सांसदहरूले संसद्‌मै माग गरेका थिए। गुप्तालाई हटाउन प्रधानमन्त्री ओलीलाई समेत पार्टीभित्रैबाट दबाब दिइएको थियो। 

चौतर्फी आलोचना भएपछि गुप्ता ठूलो तनावमा परेका थिए। उनले गत आइतबार नेपालखबरसँग कुरा गर्दै आफू राजीनामा तयार रहेको र उपत्यकाबाहिर रहेका प्रधानमन्त्री कुरिरहेको बताएका थिए।

सोमबार बिहान प्रधामन्त्रीसँग भेट गरेका गुप्ताले केही घण्टा फोन अफ गरेर बसे। यसबीच उनलाई राजीनामाका लागि प्रधानमन्त्रीले निर्देशन दिएको चर्चा पनि भयो।

तर सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा गुप्ता सहभागी भएपछि यो कुरा त्यसै ढिसमिस हुने आशंका गरिएको थियो। 

यसैबीच मंगलबार बिहान उनले राजीनामा बुझाएका हुन्। 

आरोप र आलोचनाको तनावले हार्टअट्याक नै होलाजस्तो भएपछि मन्त्री पदबाट राजीनामा दिएको गुप्ता बताउँछन्। 

‘कति तनाव सहने बाफ रे बाफ! तीन दिनदेखि टीभी हेर्न पाएको छैन, मोबाइल चलाउँदा त्यत्तिकै तनाव, हत्तेरिका, यस्तो पनि हुन्छ! मेरा कुरा कसैले नलेख्ने! बाफ रे बाफ यति झन्झट’ मान्छेलाई हार्टअट्याक हुन्छ, म आफैँ गएर पीएमलाई दिएँ। मलाई बस्न मन लागेन हजुर, छानबिन होस् मेरो पनि राजनीतिक करियर छ नि त। आरोप लागेर कुर्सीमा बस्नु धेरै तनाव भयो।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad