पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले देशका प्रमुख तीन दलविरुद्ध आक्रोश पोखेका छन्।
आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सँगै रहेको तस्बिर सामाजिक सञ्जालमा राख्दै उनीहरूले देशका गम्भीर संरचनात्मक समस्या समाधानमा कुनै माखो मार्न नसकेको टिप्पणी गरेका हुन्।
यस क्रममा भट्टराईले व्यक्तिगत रूपमा तोकेरैचाहिँ आफ्नै पूर्वसहयोद्धा प्रचण्डको बढी आलोचना गरेका छन्।
‘संसद्का दुई ठूला दल मिलेर बनेको सरकारको गत एक वर्षको सबभन्दा ठूलो उपलब्धि भनेको अब पुराना दलहरूले जतिपटक जोसुकैको नेतृत्वमा सरकार चलाए पनि उनीहरूबाट देश र जनताका गम्भीर संरचनात्क समस्याहरू (संस्थागत भ्रष्टाचार, बेरोजगारी, अल्पविकास, परनिर्भरता, पर्यावरण विनाश आदि) हल हुनै सक्दैनन् भन्ने कुरा आम जनताले बुझ्ने गरी व्यवहारमै प्रमाणित गरिदिनु हो’, उनले लेखेका छन्, ‘तेस्रो ठूलो दलका एकल सुप्रिमोले पटकपटक च्याँखे थापेर सरकारको नेतृत्व गरे पनि यी गम्भीर संरचनात्मक समस्याहरूको समाधानमा कुनै माखो मार्न नसकेको पहिल्यै देखिसकिएकै हो। यो स्थितिमा अब नेपाली इतिहासको कोर्टको बल नयाँ र वैकल्पिक शक्तिहरूको हातमा ढिलो-छिटो आउने निश्चितै छ। उनीहरूले त्यसको गम्भीर तयारी कसरी गर्छन् वा गर्नुपर्छ? आगामी दिनको राजनीतिक विमर्श अब त्यता सोझिनुपर्छ। सबैले आआफ्नो छातीमा हात राखेर मम भन्ने कि?’
Shares

प्रतिक्रिया