नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय एकता अभियानबीच एकता गर्ने सहमति भएको छ। सहमतिअनुसार साउन २ गते राष्ट्रिय सभागृहमा दुई पार्टी एक भएको घोषणा गरिनेछ।
सहमतिपत्रमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एकता अभियानका अध्यक्ष गौतमबीच आज शुक्रबार लिखित सहमति भएको हो।
एकता गर्ने लिखित सहमति गरेका वामदेव गौतम एकीकृत समाजवादी पार्टीमा जाने चर्चा पहिलो भने होइन।
यसअघि ०८१ पुसमा पनि दुई दलबीच एकताको तयारी गरिएको थियो। अन्तिम चरणमा पुगेको भनिएकै बेला गौतम एउटा मात्रै पार्टीसँग मिल्नेभन्दा पनि अभियानलाई नै अघि बढाउने बताउँदै पछि हटेका थिए।
त्यसो त केही नेताले वैचारिक, सैद्धान्तिक तथा सांगठनिक विषयहरू टुंगिएको भन्दै एकीकृत समाजवादीसँग माघको पहिलो हप्ताभित्रै एकता हुने दाबी गरेका थिए।
त्यतिबेला एकीकृत समाजवादीसँग एकता गर्ने विषयमा छलफल गर्नुअघि वामदेवले नेकपा एमालेसँग एकता गर्ने भनेर छलफल अघि बढाए।
तर एमाले अध्यक्ष केपी शर्मा ओलीले 'भाउ' नदिएपछि फेरि एकीकृत समाजवादीतिरै छलफलमा लागेका थिए।
आज सहमति भएपछि नेपालखबरसँग कुरा गर्दै वामदेवले साउन २ गते दुई पार्टीबीच एकता घोषणा हुने सुनाए।
यसपटक साँच्चै एकीकृत समाजवादीसँग एकता हुन लागेको हो?
यस प्रश्नमा उनले नेपालखबरसँग भने, 'यसपटक साँच्चै हो। केही मतभेद छैन। साउन २ गते सभागृहमा घोषणा हुन्छ।'
त्यसो भए उनले एकीकृत समाजवादीमा कुन पद पाउँछन् त? यस प्रश्नमा उनले थपे, 'मैले कुनै पद माग गरिनँ। उहाँहरूले सल्लाह गरेर के उपयुक्त हुन्छ त्यसै गर्नुहोला।'
'नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमसहितका नेताहरूबीच छलफल हुँदा राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीती र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान नेकपा (एकीकृत समाजवादी) मा एकताबद्ध हुने सहमति गरियो' शुक्रबार भएको सहमतिपत्रमा उल्लेख छ।
वामदेवले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपा फुटेलगत्तै कम्युनिस्ट एकता गर्नुपर्ने भन्दै एकता अभियान घोषणा गरेका थिए।
Shares

प्रतिक्रिया