नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले विभिन्न मुद्दा लागेका पार्टीका नेतालाई बचाउन नसकेको भन्दै नेतृत्वको आलोचना गरेका छन्। जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता श्रेष्ठले नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुद्दा लागेका आफ्ना नेतालाई बचाएको तर कांग्रेसले किन जोगाउन नसकेको भन्दै प्रश्न गरेका हुन्।
पार्टीले आफ्ना नेताहरूलाई समान व्यवहार नगरेको गुनासो पनि उनले गरे।
‘माओवादीले आफ्ना मानिसलाई बचाएको छ, दोषी ठहर भइसकेका मानिसलाई बचायो। एमालेले पनि बचाइराखेको छ,' उनले भने, 'हाम्रो खुमबहादुर खड्कादेखि विजयकुमार गच्छदारलाई मुद्दा लाग्यो। चिरञ्जीवि वाग्लेलाई मुद्दा लाग्यो। अरूले जोगाएका छन् हामीले हाम्रो साथीहरूलाई जोगाउन किन सकेनौँ?’
त्यस्तै उनले कांग्रेसको भोट घट्दै गइरहेको भन्दै सभापति शेरबहादुर देउवासहितका नेताको ध्यानाकर्षण गराए। पार्टीभित्र अनुशासन कायम गर्न नसकिएको उनको अर्को गुनासो थियो। ०७४ सालको निर्वाचनको प्रसंग निकाल्दै उनले आफूलाई कांग्रेसीले नै मत नदिएको र मत नदिनेविरुद्ध अनुशासनको कारबाही नभएको बताए।
त्यस्तै अहिले क्रियाशील सदस्यता नवीकरण नभएको विषयमा सभापतिलाई प्रश्न गर्दै भने, 'महामन्त्री भन्नुहुन्छ सक्रिय सदस्यहरूले नवीकरण गरिरहेका छैनन्। यसले कांग्रेसको भोट के हुने हो?'
त्यस्तै नेताहरू आन्तरिक द्वन्द्वमा घुमिरहेको भन्दै यसबाट निस्किन एकता आवश्यक भएको उनको भनाइ छ। उनले गठबन्धन सरकारबारे पनि टिप्पणी गरे। 'हामी गठबन्धन सरकारमा त छौँ तर यो सरकारबाट भइरहेको डेलिभरीबाट जनता कत्तिको खुसी छन् भन्ने बुझ्न ढिला गर्नुहुँदैन' उनले भने।
Shares

प्रतिक्रिया