नेकपा एमालेका नेता कर्ण थापाले ७० वर्ष उमेर हद र २ कार्यकालमात्रै पार्टीको नेतृत्वमा रहन पाउने व्यवस्था कायमै रहेको बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले विधान महाधिवेशनले पास गरेको कुरा राष्ट्रिय महाधिवेशनपछि जालझेल गरेर छापिएको दाबी गरे।
‘केही–केही हाम्रा नेताहरुले सामाजिक सञ्जालमा आफ्नो पद दुरुपयोग गरेर पार्टी पंक्तिमा हामीले राष्ट्रिय महाधिवेशनबाट पारित गरेका थियौं भन्नुहुन्छ कहिले,’ थापाले भने, ‘कसैले विधान महाधिवेशनमै परिवर्तन भएको भन्नुभएको छ। त्यो कही पनि छलफल, बहस भएको छैन। प्रथम विधान महाधिवेशनले जे र्फैसला गर्यो, ७० वर्षे उमेर हदवाला पनि विधान परिवर्तन भएको छैन।’
उनले २०७९ कात्तिकको ५ गते छापिएको विधान नै आधिकारिक रहेको दाबी समेत गरे। ‘त्यो विधान जे छापियो, त्यो सक्कली विधान छापियो,’ थापाको भनाइ छ, ‘जे पारित भयो त्यही छापिएको छ। त्यसपछि पुसको ५ गते दुईवटा विधान छापिएका छन्। बाहिरको बोक्रो चाहिँ विधान महाधिवेशनबाट पारित गरिएको भन्ने नै छ। अर्को विधान के छापियो भन्दा विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनबाट पारित भनेर छापिएको छ। विधान महाधिवेशनबाट पारित भएको दुई कार्यकाल र ७० वर्षे उमेर हदवाला जस्ताको तस्तै छापिएको विधान पनि हामीसँग छ। त्यसमा छलफल केही पनि नगरी छाप्ने बेलामा अर्कै छापिएको विधान पनि छ हामीसँग। यस प्रकारको जालझेलपूर्ण काम चाहिँ जसले गर्नुभयो, त्यो नगर्दिए हुन्थ्यो।’
उनले पूर्वराष्ट्रपति विद्या भण्डारी फर्किंदा कुनै प्रश्न उठाउनुपर्ने कुनै कारण नरहेको समेत उल्लेख गरे। ‘राष्ट्रपति भएको बेलामा उहाँ पार्टीको राजनीतिमा आउछु भनेको भए प्रश्न उठ्नु स्वभाविक थियो,’ थापाले भने, ‘अब पदीय दायित्व पूरा गर्नुपर्ने बेलामा गर्नुभयो। त्यसपछि पनि यो देशका निम्ति मैले केही गर्न बाँकी छ, म गर्न सक्छु, मेरो उमेर, ऊर्जा र अनुभव छ भन्नु भएको छ।’
Shares

प्रतिक्रिया