नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको नेतृत्वमा दुई कार्यकालको व्यवस्था हटाउने निर्णय दशौँ महाधिवेशनको सर्वसम्मत निर्णय भएको बताएका छन्।
बुधबार साँझ सामाजिक सञ्जालमा ‘भ्रम र वास्तविकता’ भन्दै महासचिव पोखरेलले यस्तो दाबी गरेका हुन्।
एमालेकै कतिपय नेताहरूले विधान महाधिवेशनबाट पारित दुई कार्यकाल र ७० वर्षे उमेर हदको विषयमा ‘छलछाम गरिएको’ बताइरहेका बेला महासचिव पोखरेलले यस्तो स्पष्टीकरण दिएका हुन्।
‘विधान महाधिवेशनमा पारित विधान र राष्ट्रिय महाधिवेशन पश्चात प्रकाशित विधानमा देखिएको अन्तरलाई आधार बनाएर विधानमा छलछाम भनेर प्रचार गर्ने प्रयास भइरहेको छ’ पोखरेलले लेखेका छन्, ‘जबकी राष्ट्रिय महाधिवेशन अघि बसेको केन्द्रीय कमिटीको बैठकले विधान महाधिवेशनवाट पारित विधानमा संशोधन गर्ने प्रस्ताव राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने सर्वसम्मत निर्णय गरेको थियो। उक्त निर्णय प्रस्तावलाई महाधिवेशनमा प्रस्तुत गरी सर्वसम्मत रुपमा पारित गरिएको थियो।’
उनले केन्द्रीय कमिटीको आकार बढाउने र दुई कार्यकालको व्यवस्था हटाउने कुरा प्रमुख प्रस्तावका रुपमा रहेको उल्लेख गर्दै सोही संशोधित विधानको व्यवस्था अनुरुप डा. पुष्प कंडेल तेश्रो कार्यकालका लागि लेखा आयोगको अध्यक्षमा निर्वाचित भएको उदाहरण प्रस्तुत गरेका छन्।
यस्तै, पोखरेलले ७० वर्षे उमेरहदको विषय भने पार्टी प्रवेशलाई व्यवस्थापन गर्ने सन्दर्भमा सचिवालयको निर्णय प्रस्ताव मार्फत केन्द्रीय कमिटीबाट हटाइएको स्पष्ट पारेका छन्।
पछिल्लो समय पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको नेतृत्व लिने तयारीका साथ सक्रिय भएपछि एमालेमा दुई कार्यकाल र ७० वर्षे उमेरहदको विवाद चर्किएको छ।
Shares

प्रतिक्रिया