राजनीति


विवाद बढेपछि रास्वपाको बागमती प्रदेश अधिवेशन अन्योलमा (तस्बिर)

मध्यराति सुरु भएको मतदान केहीबेरमै स्थगित
विवाद बढेपछि रास्वपाको बागमती प्रदेश अधिवेशन अन्योलमा (तस्बिर)

सुनिता विष्ट
जेठ २७, २०८३ बुधबार ९:५५, हेटौँडा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनमा झमेला भएको छ। जसले निर्वाचन प्रक्रिया अन्योलमा परेको छ। 

मंगलबारबाट सुरु भएको रास्वपा बागमतीको पहिलो अधिवेशन  निर्वाचन प्रक्रिया हिजो दिउँसोबाटै सुरु भएको थियो। तर प्रतिनिधि संख्याको विवादका कारण उम्मेदवारी दर्ता नै सकसपूर्ण बन्यो। 

सभापति पदका लागि ५ जनाको उम्मेदवारी तथा सदस्यका लागि ८८ जनाको उम्मेदवारी दर्ता भएको थियो। अन्तिममा सभापतिका उम्मेदवार बनेका बदन भण्डारीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ४ जनाको उम्मेदवारी मात्रै कायम भएको थियो।

राति १ः३० बजेबाट मतदान सुरु भए पनि केहीबेरमै विवाद भएपछि बुधबार (आज) बिहान ८ बजेसम्मको लागि स्थगित गरेर निर्वाचन परिचालन कमिटी अधिवेशन स्थलबाट बाहिरिएको थियो। 

५/६ जना प्रतिनिधिले मतदान गरेपश्चात् विवाद सिर्जना भएको निर्वाचन परिचालन कमिटीले जनाएको छ। 

आज बिहानसम्मको लागि स्थगित गरिए पनि हालसम्म पनि निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन। 

रास्वपा बागमती प्रदेश सभापति पदका लागि एक सांसद सहित ४ जना चुनावी मैदानमा छन्। 

नुवाकोट–२ बाट निर्वाचित सांसद अच्युतम लामिछाने, मकवानपुरका उत्सव अर्याल, धादिङका कृष्णमान शाक्य र रामेछापका हरिबहादुर खत्री चुनावी मैदानमा उत्रिएका हुन्। 

लामिछाने रास्वपा बागमती प्रदेशको निर्वतमान सभापति समेत हुन् भने मकवानपुरका अर्याल प्रदेश कमिटीको प्रवक्ता हुन्। 

धादिङका शाक्य पार्टीको केन्द्रीय प्रशिक्षण विभागका सदस्य हुन् भने रामेछापका खत्री यसअघि पार्टीको कुनैपनि जिम्मेवारीमा नरहेको बताउँछन्। 

रास्वपाको विधान अनुसार दुई चरणमा निर्वाचन हुनेछ। पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन हुनेछ भने निर्वाचित सदस्यहरू मध्येबाट दोस्रो चरणमा पदाधिकारी चयन गरिने व्यवस्था छ। बागमती प्रदेशमा ६५ सदस्यीय प्रदेश समिति गठन हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad