राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको सभापतिमा चार जनाबिच प्रतिस्पर्धा हुने भएको छ।
मंगलबारदेखि हेटौँडामा जारी रास्वपाको पहिलो प्रदेश अधिवेशनमा चारजनाले सभापतिमा उम्मेदवारी दिएका हुन्।
तर, मध्यरातिदेखि सुरु भएकाे मतदान प्रक्रिया भने विवाद बढेपछि अघि बढ्न सकेको छैन।
विवाद बढेपछि रास्वपाको बागमती प्रदेश अधिवेशन अन्योलमा (तस्बिर)
सुरुमा सभापति पदका लागि ५ जना र सदस्यका लागि ८८ जनाको उम्मेदवारी दर्ता भएको थियो। अन्तिममा सभापतिमा उम्मेदवार बनेका बदन भण्डारीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ४ जनाको उम्मेदवारी मात्रै कायम भएको निर्वाचन समितिले जनाएको छ।
रास्वपा बागमती प्रदेश सभापति पदका लागि एक सांसदसहित यतिबेला चार जना चुनावी मैदानमा छन्। उनीहरू मतदाता रिझाउने प्रयासमा तल्लिन छन्।
नुवाकोट–२ बाट निर्वाचित सांसद अच्युतम लामिछाने, मकवानपुरका उत्सव अर्याल, धादिङका कृष्णमान शाक्य र रामेछापका हरिबहादुर खत्री सभापतिको प्रतिस्पर्धामा छन्।
लामिछाने रास्वपा बागमती प्रदेशको निर्वतमान सभापतिसमेत हुन् भने मकवानपुरका अर्याल प्रदेश कमिटीको प्रवक्ता हुन्।
धादिङका शाक्य पार्टीको केन्द्रीय प्रशिक्षण विभागका सदस्य हुन् भने रामेछापका खत्री यसअघि पार्टीको कुनैपनि जिम्मेवारीमा नरहेका नेता हुन्।
रास्वपाको विधान अनुसार दुई चरणमा निर्वाचन हुनेछ। पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन हुनेछ भने निर्वाचित सदस्यहरू मध्येबाट दोस्रो चरणमा पदाधिकारी चयन गरिने व्यवस्था छ।
बागमती प्रदेश समिति ६५ सदस्यीय हुने व्यवस्था छ।
Shares

प्रतिक्रिया