राजनीति


राजेन्द्र पाण्डेसँग ‘तत्कालै’ : भण्डारी आउनुपर्‍यो, ओलीले ब्लन्डर गरे भन्नुपर्‍यो, अनि एकताको माहोल बन्छ (भिडिओ)

‘रामकुमारी झाक्रीलाई अब हाम्रो पार्टीको नेता भन्न सुहाउँदैन, कारबाही गर्छौं’

अनिल यादव
असार १७ , काठमाडौँ

संघीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’लाई निरर्थक बनाउने गरी ‘बाहेक’ शब्द घुसाइएको पाइएपछि आइतबार राजनीतिक वृत्तमा यो विषय ‘हटकेक’ बन्यो। सबैको एउटै जिज्ञासा रह्यो– बिर्कोमा लाको चिनीमा कसरी पस्यो कमिलो! 

गल्ती कसको? विधेयकको फाइनल ड्राफ्ट गर्ने कर्मचारीको कि राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाको? 

मंगलबार साँझ नेपालखबर ‘तत्कालै’मा आएका एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे यसमा तीनवटा निकायको संलग्नता रहेको बताउँछन्।

‘जसले यो हाल्नु हुँदैन भनेर प्रधानमन्त्रीकहाँ डेलिगेसन गयो। जसले संयुक्त राजीनामा दिन्छौँ भनेर धम्की दियो। हो, तिनीहरूकै सहयोगीहरूले गरे,’ पाण्डेले भने, ‘यो काममा तीनवटा निकाय संलग्न छन्। एउटा राज्य व्यवस्था तथा सुशासन समितिको सचिवालय। त्यो सचिवालयको प्रमुख कर्मचारीको हिसाबले प्रमुख सुरजकुमार दुरा, जो सचिव छन्। अनि त्यसपछि अर्को संघीय मामिला मन्त्रालयको सहसचिव, अनि कानुन मन्त्रालयको सहसचिव। यी तीन निकाय समितिले पास गरिसकेपछि विधेयकका भाषा, दफाहरू, अरू कतिपय अनुसांगिक विषयहरू मिलाउन बस्छन्। कमा, फुलस्टप, शब्दावली मिलाउनको लागि त्यहाँ बस्ने गरिन्छ। त्यो शब्द–शब्दावली मिलाउन भनेर बसेकाहरूले यहाँभित्र यो विधेयकमा प्वाल पार्ने काम गरे। र यो नेपालको इतिहासमा ठूलो अपराधपूर्ण काम हो।’

यो प्रकरणमा सभामुख देवराज घिमिरेकै सचिवालयको पनि संलग्नता रहेको उनको आरोप छ। 

‘सभामुखकै सचिवालयका मान्छेहरू पनि यो काममा संलग्न छन् भन्ने कुरा आइरहेको छ,’ पाण्डेले भने। 

राज्य व्यवस्था समितिका सदस्यसमेत रहेका पाण्डेले आफूहरूलाई विधयेकको अन्तिम ड्राफ्ट पढ्न नदिइएको बताए।  

‘सबै सुनाएपछि मात्रै लाने है भनेका थियौँ। यति भन्दाभन्दै हामीलाई त के खतरा भइसकेको थियो भने यो विधेयक नै नआउने हो कि पार्लियामेन्टमा, कार्यसूचीमा चढेर पनि फेरि स्थगित भयो बीचमा। यो समस्याका बीचमा हामीले पढ्न पाएनौँ,’ उनले भने। 

यो घटनाले कर्मचारीहरू कतिसम्म गर्न तयार हुँदा रहेछन् भन्ने छर्लङ्ग भएको पाण्डे बताउँछन्। 

‘कर्मचारीले नेतालाई घुमाउने कुरा मात्रै होइन यो,’ उनले भने, ‘एउटा पास भएकोमा अर्को कुरा लगेर पास गराउने कुरा त अपराध हो। अब कर्मचारीहरू आफ्नो हितको निम्ति कति ठूलो अपराधमा जाँदारहेछन् भन्ने हो। यसमा त प्रस्टै छ, मुख्यसचिव मरिमेटेर लागेका हुन् यो हाल्नुहुँदैन भनेर, मन्त्रालयका सचिवहरू यो हाल्नु हुँदैन भनेर मरिमेटेर लागेका हुन्। यी मरिमेटेर लाग्नेहरूकै काम तामेली गरेको हो नि त यो।’

यो नेपालको संसदीय इतिहासमै कालो दिन भएको बताउँछन् उनी। 

‘यो नेपालको इतिहासमा, संसदीय इतिहासभित्रको कालो दिन भन्छु म। यो राम्रो काम होइन, राम्रो लक्षण होइन,’ उनले भने। 

काभ्रेपलाञ्चोकमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई जग्गा हदबन्दी छुट प्रकरणमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते मुद्दा दायर गरेसँगै एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपाल सांसदबाट निलम्बित भएका छन्। तर, नेपाल अहिलेसम्म कार्यवाहक जिम्मेवारी दिएर पार्टीको नेतृत्वबाट अलग्गिएका छैनन्। 

यहीबीचमा गत शनिबार पार्टी निकट युवा संघको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै एकीकृत समाजवादीकी स्थायी समिति सदस्य रामकुमारी झाक्रीले अध्यक्ष नेपालतिर लक्षित गर्दै ‘मरेको सिनो काँधमा बोकेर हिँड्न नसकिने’ बताइन्।

‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरु कयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन,’ उनले भनेकी थिइन्, ‘हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नु परेन? गरौँ न त अर्ली महाधिवेशन गरौँ। हलबाट नेतृत्व छानौँ।’

यसले सो पार्टीमा नेतृत्वलाई लिएर ठूलो असन्तुष्टि रहेको संकेत गर्छ। तर, झाक्रीको सो अभिव्यक्तिबारे पाण्डेले कडा शब्दमा आपत्ति जनाए। झाक्री अब एकीकृत समाजवादीको नेता भन्न सुहाउने हैसियतमा नरहेको र उनलाई स्पष्टीकरण सोधेर कारबाही गरिनेसम्म उनले खुलाए। 

‘एउटा पार्टीको कार्यकर्ता अथवा पार्टीको नेता, स्थायी कमिटीको सदस्यको हिसाबले उहाँले बोल्न नहुने शब्दहरू बोल्नुभएको हो,’ पाण्डेले भने, ‘उहाँलाई त्यही कुरा बोल्न पर्‍यो भने पार्टीको स्थायी कमिटीको बैठक हुन्छ, पार्टीको सचिवालयको बैठक हुन्छ, त्यहाँ मैले केही कुरा भन्न पाउनुपर्‍यो भनेर भन्न पाउनुहुन्छ। तर उहाँले जुन ढंगले भन्नुभयो, त्यहाँ माधव नेपाललाई मात्रै गाली गर्नुभएको छैन। उहाँले ३२ मिनेट जति बोल्नुभयो, ३२ मिनेटमा २०–२२ मिनेट उहाँले लगातार एकीकृत समाजवादी पार्टीलाई गाली गर्नुभएको छ। एकीकृत समाजवादी पार्टी बन्दैन भन्नुभएको छ। एकीकृत समाजवादी पार्टीमा तपाईंहरू किन बसिरहेको यो युवा जमात भनेर भन्नुभएको छ। र, पार्टीमा बसेर त्यो पार्टीको कार्यकर्तालाई अर्कोतिर पठाउने, भड्काउने काममा उहाँ लाग्नुभएको छ। यो सबै गतिविधिले हेर्दाखेरी, उहाँलाई अहिले हाम्रो पार्टीको नेता भन्न सुहाउँदैन।’

झाक्री जहाँ गए पनि पार्टीविरुद्ध लागेको उनको दाबी छ। 

‘उहाँ जहाँ जानुहुन्छ, त्यहाँ पार्टीको विरुद्धमा बोल्नुहुन्छ। पार्टीले निर्णय नगरेको कुराको विरुद्धमा बोल्नुहुन्छ,’ पाण्डेले भने, ‘अनुशासनहीन मान्छेहरू बसेर पार्टी ठूलो हुँदैन। पार्टी बलियो हुँदैन। त्यसो हुनाले उहाँलाई कारबाही गर्नुपर्छ। हामी पहिला उहाँलाई स्पष्टीकरण सोध्छौँ। त्यो स्पष्टीकरणमा उहाँले उत्तर दिनुहुन्छ, त्यसैको आधारमा हामी उहाँलाई कारबाही गर्छौं।’

पूर्वराष्ट्रपति विद्या भण्डारीको एमाले राजनीतिमा सक्रियताबारे पनि हामीले पाण्डेसँग जिज्ञासा राख्यौँ। हामीले सोध्यौँ– के विद्याको आगमनले एमाले र एकीकृत समाजवादीबीच पार्टी एकताको माहोल बन्छ? 

जवाफमा उनले विद्या भण्डारीले अध्यक्ष केपी ओलीले गरेका कामकारबाहीलाई गलत भन्न सकेको अवस्थामा त्यो सम्भावना रहने संकेत गरे।

‘विद्या भण्डारी आउनुपर्‍यो, उहाँले भन्नुपर्‍यो, हिजो संसद् विघटन गरेर केपी ओलीले ब्लन्डर गरेका थिए, संविधानविरुद्ध काम गरेका थिए, संविधान च्यात्ने काम गरेका थिए भनेर,’ पाण्डेले भने, ‘अहिले ओली दिनप्रतिदिन निरंकुश शैलीबाट शासन गर्ने मानसिकतामा छन्। त्यो कुरामा उनले परिवर्तन गर्नुपर्‍यो। होइन, ओलीलाई परिवर्तन गर्न नसक्ने हो भने ओलीको यो व्यवहार ठीक छैन, म अब फरक ढंगले देखिन्छु भनेर भन्न सक्नुपर्‍यो विद्या भण्डारीले। अनि मात्र न एकताको कुरा होला।’

फोटो/भिडिओः सरोज नेपाल

हेर्नुहोस्, पाण्डेसँग गरिएको कुराकानी ‘तत्कालै’:

असार १७, २०८२ मंगलबार २३:३२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad