राजनीति


पार्टी बैठकमा गृहमन्त्री- सरकार सञ्चालनमा बाधा छैन, भिजिट भिसामा माओवादीले मात्रै कुरा बुझ्यो

पार्टी बैठकमा गृहमन्त्री- सरकार सञ्चालनमा बाधा छैन, भिजिट भिसामा माओवादीले मात्रै कुरा बुझ्यो

नेपालखबर
असार १७, २०८२ मंगलबार १७:५५, काठमाडौँ

नेपाली कांग्रेसका नेतासमेत रहेका गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै पार्टी बैठकमा गुनासो गरेका छन्। 
पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा संसद् र सरकारमा पार्टीको भूमिकाको विषयमा जानकारी गराउनेक्रममा यस्तो गुनासो गरेका हुन्।  

'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको विषयलाई लिएर विभिन्न प्रचार भइरहेको छ। यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। केही कर्मचारी र केही निजी क्षेत्रका मान्छेहरूमाथि अनुसन्धान भइरहेको छ। अख्तियारले अनुसन्धान सुरु गर्ने वित्तिकै म संलग्न भएको जसरी प्रचार गरियो,' उनले भने, 'म के निवेदन गर्न चाहन्छु भने यो राजनीतिक संयन्त्रले प्रतिशोध साँध्ने गरी गरेको प्रचारको विषय हो।' 

उनले अख्तियारले सम्बन्धित कार्यालयमा अख्तियारले अनुसन्धान जारी राखेको र आवश्यक दस्तावेज पनि नियन्त्रणमा लिएको सुनाए।  

'सम्बन्धित कार्यालयमा अख्तियारले अनुसन्धान गरेर आवश्यक दस्तावेज र आवश्यक कुराहरू नियन्त्रणमा लिएको छ। सम्बन्धित मान्छेहरूलाई अुनसन्धान गरिरहेको छ,' उनले थपे, 'हाम्रो संविधानले अख्तियारलाई पूर्ण अधिकारको व्यवस्था गरेको छ।  सरकारले, मैले तत्कालै गर्नुपर्ने भनेको अख्तियारको माग बमोजिम अनुसन्धानमा सहयोग हो। यो भइरहेको निवेदन गर्न चाहन्छु।' 

उनले अहिले भिजिट भिसाको नाममा मात्रै नभई समग्र अध्यागमनकै प्रणाली नै सुधार्नुपर्ने आवश्यकता भएको पनि औंल्याए। प्रणाली सुधारका लागि समिति बनाएको र उक्त समितिले एक दुई दिनमै काम सुरु गर्ने उनको भनाइ छ।  

'अध्यागमन प्रणालीमै सुधारको आवश्यकता छ। कुरा भिजिट भिसाको मात्रै होइन।  नेपालबाट बाहिर जाने र नेपाल आउनेको विषयमा प्रणाली नै सुधार गर्नुपर्ने छ,' लेखकले भने, 'कानुनी र संरचनात्मक सुधारमा के गर्न सकिन्छ भनेर समिति बनेको छ। समितिले आज-भोलि नै काम सुरु गर्छ। अख्तियारले हेर्ने अख्तियारले हेरिरहेको छ त्यो उसको निष्कर्षमा पुगोस् यता सुधारका लागि समितिले तीन महिना अध्ययन गरेर प्रतिवेदन बुझाउँछ। त्यो अनुसार काम गर्ने भनेर मैले प्रतिवद्धता गरिसकेको छु।' 

उनले भिजिट भिसा प्रकरणमा आफू संलग्न नभएको भन्ने बारे प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बुझेको तर अरु दलले नबुझेको पनि बताए। 
 
'प्रमुख प्रतिपक्षी दल यसमा कन्भिन्स भएको छ। अरुले कुरा बुझ्नु भएको छैन। राजनीतिक ढंगले अघि बढाउनु उचित हुँदैन,' उनले भने, 'सरकार  सञ्चालनमा कुनै गाह्रो-अप्ठ्यारो छैन।' 

उनले सरकार सञ्चालनमा समस्या आए नेकपा एमाले र कांग्रेसका नेताहरू बसेर छलफल गरिएको जानकारी गराए। 

'दुई पार्टी बीचमा समस्या आए छलफल गर्ने गरिएको छ। सरकार सञ्चालनको विषयमा कुनै समस्या छैन अहिले। सहजता होस् भनेर संयन्त्र या कार्यदलमार्फत पनि काम गरिएको छ,' उनले भने, 'कांग्रेसको उपस्थिति कमजोर भयो किन। कांग्रेसले सरकारमा गर्ने काम कम भयो कि भनेर कुराहरू आउने गरेका छन्। कांग्रेसको कोणबाट हेर्दा हामीले त्यसरी पनि देखेका हुन्छौँ। प्रयास गर्दा गर्दै गलत भएका हुन्छन्। आदरणीय साथी सरहरूले त्यसै रुपमा लिनुहुनछ भन्न चाहन्छु।'  
 
उनले अहिलेको गठबन्धनको विकल्पमा कुरा गर्न थालियो भने सही ठाउँमा नपुग्ने पनि सुनाए। 'हामी सरकारको विकल्पको कुरा गर्न थाल्यौँ भने ठाउँमा पुगिँदैन भन्न चाहन्छु,' उनले थपे, 'कमी कमजोरी छन् भने सुधार गर्दै निरन्तरता दिएर जान उचित हुन्छ भन्न चाहन्छु।'


उनले नागरिकता विधेयक अघि बढेको विषयमा पनि सुनाए। आफू सरकारमा आउँदा गणतन्त्र नै समाप्त गर्नेहरू सक्रिय भएको तर अहिले उनीहरूको निस्तेज भएको दाबी गरे। 

'म गृहमन्त्रालयमा आउँदै गर्दा गणतन्त्र नै समाप्त गर्ने संविधान नै च्यात्ने काम भइरहेका थिए पछिल्लो समय निस्तेज भएका छन्। तर केही चुनौतीहरू छन्,' उनले भने, 'मुलुकका केही ठाउँमा धार्मिक गतिविधि द्वन्द्व हुने अवस्था छ।'

त्यस्तै लागुऔषध ओसारपसार, आत्महत्या, सवारी दुर्घटनालाई ठूलो चुनौतीको रुपमा देखिएको उनको भनाइ छ।  
  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad