राष्ट्रिय सभा सदस्य अन्जान शाक्यले प्रधानमन्त्री कार्यालयमा सबै मन्त्रालयका कार्यप्रगति र मुख्य सूचकहरु एउटै स्क्रिनमा प्रत्यक्ष देख्नका लागि ‘रियल टाइम ड्यासबोर्ड’ राख्न आग्रह गरेकी छन्।
विनियोजन विधेयक २०८२ का विभिन्न शीर्षक माथिको राष्ट्रियसभाको आजको छलफलमा सम्वोधन गर्दै उनले यस्तो बताएकी हुन्।
‘त्यसमार्फत हरेक प्रधानमन्त्रीले देशको प्रमुख कार्यकारी अधिकृतको रुपमा हरेक मन्त्रालयको कमलाई तुरुन्त हेर्न बुझ्न र आवश्यक निर्देशन दिन सक्नुहोस्,’ उनले भनिन्, ‘एउटा समान्य निजी कम्पनीले समेत आफ्ना दर्जनौँ शाखाहरूको अवस्था एकै ठाउँमा अनुगमन गर्न सक्छ भने देश चलाउने सरकारले किन नसक्ने?’
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको ‘एकीकृत अनुगमन प्रणाली’ स्तरोन्नतिका लागि जम्मा रु १६ लाख छुट्याएको भन्दै त्यसले आजको प्रविधिको युगमा एउटा गतिलो वेबसाइट बनाउन पनि हम्मे पर्ने उल्लेख गरिन्।
उनले शिक्षा पूर्वाधार र अर्थतन्त्रको जग भएको भन्दै प्रत्येक नेपालीलाई आफ्नो इतिहास, स्वाभिमान, सङ्घर्ष, बलिदान र उपलब्धीका विषयमा गौरवबोध गराउन विद्यालय तहको पाठ्यक्रममा नै यी विषयहरु अनिवार्य समावेश गर्नुपर्नेमा पनि जोड दिइन्।
सांसद शाक्यले कृषि क्षेत्र हरेक नेपालीको भान्सा र भविष्यसँग जोडिएको भन्दै परम्परागत प्रविधि नभई आधुनिक प्रविधिको विकासमा जोड दिनुपर्ने उल्लेख गर्नुपर्नेमा जोड दिइन्।
त्यसैगरी उनले बजेट आवश्यकता र औचित्यको समानुपातिक वितरणको सिद्धान्त भन्दा पनि पहुँच हावी भएको जस्तो देखिएको बताइन्।
Shares

प्रतिक्रिया