राजनीति


विधेयकमा पनि अदालत पस्यो, असाधारण क्षेत्राधिकारको दुरुपयोग भइरहेको छ: सांसद घिमिरे

विधेयकमा पनि अदालत पस्यो, असाधारण क्षेत्राधिकारको दुरुपयोग भइरहेको छ: सांसद घिमिरे

नेपालखबर
असार १६, २०८२ सोमबार १०:५७, काठमाडौँ

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विनियोजन विधेयकभित्र पनि अदालत प्रवेश गरेको भन्दै आपत्ति जनाएका छन्।

सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले संसदले पास गरेको विनियोजन विधेयकहरूमा पनि अदालत प्रवेश गर्ने कुरा पटक्कै राम्रो नभएको बताएका हुन्।

संसदीय सुनुवाइ समितिमा आज सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्तिसिंह थापाको सुनुवाइ चलिरहेको छ। थापाले कार्ययोजना प्रस्तुत गरेपछि सांसद घिमिरेले न्याय प्रणाली अत्यन्तै ढिलो भएको टिप्पणी पनि गरे।

सर्वोच्च अदालतमा आएर धेरै समय अड्किने परिपाटी अन्त्य गर्ने योजनाबारे उनले प्रश्न पनि गरे।

उनले भने, ‘न्याय प्रणाली हाम्रोमा अत्यन्तै ढिलो भयो। सर्वोच्च अदालतमा आएर धेरै समय अड्किने भएको छ। सर्वोच्चमा गएर वर्षौंसम्म मुद्दा अड्किने गरेको छ। शक्ति पृथकीकरणको सिद्धान्त जुन छ, यसमा यो उल्लंघन हुन थालेको देखिएको छ। एउटाको अधिकार क्षेत्रभित्र अर्को प्रवेश गर्दा यो अभ्यास बारम्बार देखिएको छ। यसलाई रोक्नै पर्छ। यो रोकिएन भने एक प्रकारको असामञ्जस्य निर्माण गर्दछ। विनियोजन विधेयकभित्र पनि अदालत प्रवेश गरेको देखिएको छ। अदालतले कानुनको व्याख्या, संविधानको व्याख्या गर्ने हो। कुनै कानुन संविधानसम्मत भएन भने त्यसको व्याख्या गर्ने हो। तर त्योभन्दा बाहिर गएर संसदले पास गरेका विधेयकहरूमाथि, विनियोजन विधेयकहरूमाथि पनि अदालत प्रवेश गर्ने कुरा पटक्कै राम्रो भइरहेको छैन। यसले कतिपय अवस्थामा कार्यपालिका, व्यवस्थापिकालाई काम गर्न असजिलो भइरहेको छ।’

घिमिरेले न्यायालयको असाधारण अधिकार क्षेत्रको दुरुपयोग हुन थालेको पनि बताए।

असाधारण अधिकार क्षेत्र भनेर कार्यान्वयन नै हुन नसक्ने अस्वाभाविक र अव्यावहारिक निर्णय गरिदिने गरेको उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad