राष्ट्रपति बनेपछि झन्डै १० वर्ष औपचारिक रूपमा राजनीति छाडेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज असार १४ गते आफू नेकपा एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गर्ने भएकी छन्।
उनका पति मदन भण्डारीको ७४औँ जन्म जयन्तीको अवरमा आज ‘मदन भण्डारी फाउन्डेसन’ले आयोजना गर्ने बृहत् कार्यक्रममार्फत उनले आफू पुनः एमालेको राजनीतिमा फर्किएको उद्घोष गर्ने भएकी हुन्।
कार्यक्रम काठमाडौँको भृकुटीमन्डपस्थित पुरानो राष्ट्रिय सभा गृहमा हुनेछ।
राष्ट्रपति पदबाट बिदा भएलगत्तै यसअघिदेखि नै एमाले नेता-कार्यकर्तालाई भेट्न देशदौडाहा गरिरहेकी भण्डारीले आज भने आफू औपचारिक रूपमा पार्टीको राजनीतिमा फर्किएको घोषणा गर्ने भएकी हुन्।
२०७२ कात्तिक ११ गते राष्ट्रपति बनेकी भण्डारी २०७४ फागुन २९ मा लगातार दोस्रो कार्यकालका लागि पुन: राष्ट्रपति चुनिइन्।
२०७९ फागुन २९ गते राष्ट्रपतिको कार्यालय (शीतलनिवास) बाट बाहिरिएकी उनी फेरि पार्टी राजनीतिमा फर्किन लागेकी हुन्। राष्ट्रपति हुनुअघि उनी एमालेमा उपाध्यक्ष थिइन्।
यसबीच अब भने उनी अध्यक्ष नै बन्ने चर्चा पनि भइरहेको छ। जसका कारण प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध चिसिएकाे खबर पनि आइरहेको छ।
त्यसो त आज (मदन भण्डारीको ७५औँ जन्म जयन्ती) को कार्यक्रममा प्रधानमन्त्री ओलीलाई नै प्रमुख अतिथि बनाएर बोलाइएको छ भने पूर्वप्रधानमन्त्री भण्डारी विशिष्ट अतिथि बन्दै छिन्।
तर फाउन्डेसनका संरक्षकसमेत रहेका एमाले अध्यक्ष ओली कार्यक्रममा सहभागी हुन भ्याउँछन् कि भ्याउँदैनन् अन्योल छ। किनकि प्रधानमन्त्री ओली आजै स्पेन भ्रमणका लागि प्रस्थान गर्ने कार्यक्रम छ।
तर उनी साँझ मात्र स्पेनका लागि प्रस्थान गर्ने भएकाले मदन भण्डारी फाउन्डेसनको कार्यक्रम भ्याउने सम्भावना पनि छ। तर यसबीच पनि अन्य केही महत्त्वपूर्ण कार्यक्रम तय भइसकेकाले ओलीलाई समय मिलाउन हम्मे परिरहेको फाउन्डेसनका पूर्वअध्यक्ष महेन्द्रबहादुर पाण्डेको भनाइ छ।
फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले भने प्रधानमन्त्री ओली आफैँले कार्यक्रममा सहभागी हुने जानकारी दिएको बताएकी छन्। ‘उहाँ (प्रधानमन्त्री)ले अहिलेसम्म आउँछु नै भनेर भन्नुभएको छ,’ भण्डारीले शुक्रबार नेपालखबरसँग भनिन्, ‘अरू त खबर गर्नुभएको छैन।’
तर यस विषयमा प्रस्ट हुने नेपालखबरले शुक्रबार ओलीका स्वकीय सचिव राजेश वज्राचार्यलाई टेलिफोन गर्दा उनी सम्पर्कमा आउन चाहेनन् भने सचिवालयका अन्य अधिकारीले स्पष्ट जवाफ दिएनन्।
‘फाउन्डेसनको कार्यक्रममा सहभागी हुने कुरा छ,’ सचिवालयका एक सदस्यले भने।
सम्बन्धित थप सामग्री:
Shares

प्रतिक्रिया