राजनीति


भ्रष्टाचार अभियोगले माधव नेपाल सांसद पदबाट निलम्बित, पार्टीको बैठकमा नियमित

भ्रष्टाचार अभियोगले माधव नेपाल सांसद पदबाट निलम्बित, पार्टीको बैठकमा नियमित

नेपालखबर
असार १३, २०८२ शुक्रबार १४:९, काठमाडौँ

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा चलिरहेको बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुने नेताहरूले बताएका छन्। साथै, आगामी उपनिर्वाचनका विषयमा पनि छलफलको एजेन्डा रहेको उनीहरूको भनाइ छ।

पतञ्जलि जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि उनी ३५ लाख रूपैयाँ धरौटी तिरेर रिहा भएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको उक्त मुद्दा विशेष अदालतमा विचाराधीन छ।

भ्रष्टाचार मुद्दा दायर हुनासाथ नेपाल सांसद पदबाट निलम्बित भइसकेका छन्। उनी निलम्बनमा परेको सूचना सभामुखले जेठ ३० गते संसदमा पढेर सुनाएका थिए।

भ्रष्टाचार निवारण ऐनअनुसार, भ्रष्टाचार मुद्दा दायर भएपछि कुनै पनि सार्वजनिक पदाधिकारी पदबाट निलम्बित हुन्छन्। 

तर, नेपालले भने भ्रष्टाचार अभियोग लागेपछि पनि नियमित रूपमा नेकपा एकीकृत समाजवादीको अध्यक्षता गरिरहेका छन्। उक्त पार्टीले अरू कसैलालाई कार्यवाहक पनि तोकेको छैन।

मुद्दा चल्नुभन्दा अगाडि उनले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्ष तोक्ने विषयमा केही निकटस्थ नेताहरूसँग छलफल गरेका थिए।

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने र तत्कालै अर्कै प्रयोजनमा बेच्न पनि अनुमति दिने निर्णय गराएर राज्यलाई ठूलो हानि नोक्सानी पुर्‍याएको अभियोग नेपालमाथि लागेको छ।

जेठ २२ गते अख्तियारले विशेष अदालतमा दायर भएको मुद्दाको प्रतिवाद गर्न उनी बुधबार विशेष अदालत गएका थिए। अदालतले उनको संलग्नता हुन सक्ने केही आधार प्रस्तुत गर्दै ३५ लाख रूपैयाँ धरौटीमा रिहा गरेको छ। यसको अर्थ उनी थुनामा नबसी मुद्दाको प्रतिवाद गर्न पाउने भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad