राजनीति


मन्त्रिपरिषद् बैठक: सशस्त्रका दुई डीआईजीको पदावधि थपियो

मन्त्रिपरिषद् बैठक: सशस्त्रका दुई डीआईजीको पदावधि थपियो

नेपालखबर
असार ९, २०८२ सोमबार २२:२४, काठमाडौँ

सरकारले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डीआईजी) कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गरेको छ।

मन्त्रिपरिषद्को सोमबार साँझ बालुवाटारमा बसेको बैठकले यो निर्णय गरेको हो।

यही असार २९ गते डीआईजीको चार वर्षे पदावधि पूरा हुने भएपछि अर्को एक वर्ष पदावधि थप गर्न सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रस्ताव गरेका थिए। 

धौवजी सशस्त्र प्रहरीको केन्द्रीय प्रवक्ता छन्। न्यौपाने बराहबाहिनी पकली, सुनसरीको बाहिनीपति छन्। पदावधि थप भए पनि उनीहरुको कार्यकाल केही महिना मात्रै लम्बिनेछ। 

३० वर्षे सेवा अवधिका कारण धौवजी आगामी असोजसम्म र न्यौपाने फागुनसम्म सेवामा रहनेछन्। 

सशस्त्र प्रहरी नियमावलीको नियम ६५ मा सशस्त्र प्रहरी कर्मचारीहरुको अनिवार्य अवकाशसम्बन्धी व्यवस्था छ। सोही नियमको उपनियममा (१) मा आईजीपी, एआईजी र डीआईजीको कार्यकाल ४ वर्षको हुने उल्लेख छ।

तर उपनियम (२) मा सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक र सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बहाल रहेका सशस्त्र प्रहरी अधिकृतको पदावधि एक वर्ष थप गर्न सक्ने व्यवस्था छ। 

थप गरिएको एक वर्षपछि त्योभन्दा माथिल्लो तहमा बढुवा नभए अवकाश हुने उल्लेख छ। तर एआईजी र डीआईजीको उमेर ५६ वर्ष पुगेमा भने पदावधि बाँकी हुँदै अनिवार्य अवकाश हुनेछन्। आईजीपीको उमेर हद ५८ वर्षे छ। ३० वर्षे सेवा अवधि पूरा भएमा पनि अनिवार्य अवकाश हुने व्यवस्था छ। 

डीआईजी धौवजी र न्यौपाने यसबीचमा एआईजी बन्ने सम्भावना छैन। तत्काल एआईजीको दरबन्दी थप नहुने र ३० वर्षे सेवा अवधि पूरा हुने भएपछि दुवैजना डीआईजीबाटै अवकाश हुनेछन्। 

दुवै जना नेपाल प्रहरीको प्राविधिकतर्फको नायव निरीक्षक (सई) बाट सशस्त्र प्रहरीमा स्थानान्तरण भएका हुन्। सशस्त्रमा आएसँगै उनीहरु एक तह बढुवा भएर सशस्त्र प्रहरी निरक्षिक भएका थिए। त्यसपछि बढुवा हुँदै उनीहरु डीआईजीसम्म पुगेका हुन्। 

सशस्त्र प्रहरीमा केहीबाहेक अधिकांश डीआईजीको पदावधि थप गरिएको छ। यसअघि पुसमा पनि चार जना डीआईजीको पदावधि एक वर्ष थप गरिएको थियो। उनीहरूमध्ये गणेश ठाडा मगर एआईजीमा बढुवा भइसकेका छन्।

अरु तीन जना डीआईजी भने आगामी पुसमा थप गरिएको पदावधि पनि पूरा गरेर अवकाश हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad