राजनीति


अहिलेका अर्थमन्त्री र सहरी विकासमन्त्री फेरि संसद्‌मा नआऊन् भन्दै कांग्रेस सांसदले गरे रोस्ट्रममै प्रार्थना

अहिलेका अर्थमन्त्री र सहरी विकासमन्त्री फेरि संसद्‌मा नआऊन् भन्दै कांग्रेस सांसदले गरे रोस्ट्रममै प्रार्थना

नेपालखबर
असार ८, २०८२ आइतबार १६:४०, काठमाडौँ

आगामी आर्थिक वर्षको बजेटका विषयमा प्रतिपक्षी दलसँगै सत्तारुढ दलका सांसदहरूले पनि आपत्ति जनाइरहेका छन्। बजेटजति मन्त्रीका क्षेत्रमा मात्रै लगिएको आरोपसहित सांसदहरूले मन्त्रीमाथि टिप्पणी गरिरहेका हुन्। 

आज आइतबार सत्तारु‌ढ कांग्रेस सांसद पूर्णबहादुर तामाङले उपप्रधान तथा सहकारी विकासमन्त्री प्रकाशमान सिंह र अर्थमन्त्री विष्णु पौडेल आगामी निर्वाचनबाट संसद्‍मा नआऊन् भनेर प्रतिनिधिसभाको रोस्ट्रमबाट नै प्रार्थना गरे। 

बजेट विनियोजनमा सिंह र पौडेलले मन्त्रालयगत आयोजना वितरण गर्दा आ-आफ्ना निर्वाचन क्षेत्र र जिल्लालाई मात्रै केन्द्रित गरेको उनको आरोप छ। सिंहले काठमाडौं र पौडेलले रुपन्देहीमा मात्रै बजेट केन्द्रित गरको तामाङको भनाइ थियो। '२०८४ को चुनावमा यी दुईवटै उपप्रधानमन्त्री यो हाउसमा नआओस् भन्ने कुरा बुद्ध भगवान र पशुपितिनाथसँग प्रार्थना गर्छु,' उनले भने।

'यहाँहरूले ३ करोडभन्दा मुनीको बजेट विनियोजन नगर्ने भन्नुभएको होइन, उपप्रधानमन्त्रीहरूले? आज काठमाडौं जिल्लामा २ लाखदेखि २ करोडसम्मका १५० योजना छन् । रुपन्देहीमा ७९ वटा हाल्ने? यसरी चल्छ ?,' उनले सोधे। 

सिंहले सहरी विकास मन्त्रालयका २०७ योजना काठमाडौं जिल्लामा मात्रै राखेको र अन्य जिल्लामा वितरण नगरेको उनको आरोप छ। सिंह र तामाङ दुवै कांग्रेसका सांसद हुन्।  

सिंहविरुद्ध पार्टीको आगामी महाधिवेशनमा प्रश्न उठाउने पनि तामाङको भनाइ छ। 

'तपाईं प्रधानमन्त्रीको लाइनमा रहेको मान्छे अब के हुनुहुन्छ? राजनीतिमा कहाँ जानुहुन्छ? यस्तै तरिकाले ७७ जिल्लाको, हामी हो नि महाधिवेशन भएर १५औँमा आउने। त्यतिबेला नाराजुलुस गरिदियो भने तपाईंको इज्जत कहाँ पुग्छ? तपाईंले काठमाडौं जिल्लालाई मात्रै देख्ने? '१५औँ महाधिवेशनमा तपाईंसँग छलफल हुन्छ,' उनले थपे, 'हामी पनि चुनाव त जितेर आउँला नि। तपाईंलाई मैले दलमा भन्ने कुरा गरन लागेको थिए, दलले बैठक राखेन।'

७७ वटै जिल्ला र १६५ निर्वाचन क्षेत्रमा योजनाको विनियोजन नगरेकोप्रति उपप्रधानमन्त्रीहरूप्रति सत्तारुढ दलका सांसदले आपत्ति जनाएका हुन्। 'यो तरिकाले तपाईंको राजनीति सप्रिन्छ? प्रधानमन्त्री र पार्टी सभापति हुने आशा गरेको थिए, यो तरिकाले देश चल्दैन, डुब्छ। कांग्रेसहरू डुबिसक्यो,' उनले भने।

उपप्रधान तथा अर्थमन्त्री पौडेललाई पनि सांसद तामाङले आगामी चुनावमा चुनौती दिने चेतावनी दिए। 'म पनि रुपन्देहीमा हुर्किएर आएको मान्छे हो। हाम्रो पनि त्यहाँ साथी छन् । तपाईं पनि ६ महिना अगाडि आएको पार्टीलाई ६८३ मतले मात्रै जितेर आउनुभएको हो। ख्याल गर्नुपर्छ। सबैलाई मिलाउनुपर्छ,' उनले भने, 'अर्थमन्त्रीज्यू, तपाईं कांग्रेसको फेला नपरेको हो। घण्टीलाई ६८३ मतले मात्रै जित्नुभएको हो। सबैको रिपोर्ट लिएर बसेका छौं।' 

आजै कांग्रेसकै नेता अर्जुननरसिंह केसीले पनि सरकारको बजेटमाथि आलोचना गरेका थिए। त्यस्तै शुक्रबार कांग्रेसका अर्का सांसद दीपक गिरीले त सरकारमा रहेका सबै मन्त्रीमाथि आक्रोश पोखेका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad